|  

शिक्षा मन्त्रालयले भन्योः गोविन्द केसीसँगको सहमति कार्यान्वयनको प्रक्रियामा छ

१३ कात्तिक, काठमाडाैं । शिक्षा तथा खेलकुद मन्त्रालयले डा.गोविन्द केसीसँग भएका सहमति कार्यान्वयन गर्न कार्यदल गठन गरी आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ।

मन्त्रालयका अनुसार चिकित्सा शिक्षाको गुणस्तर सुधार, पहुँच विस्तार, शैक्षिक सुशासन र क्षेत्रका समस्या समाधानका लागि नीतिगत तथा संस्थागत सुधारलाई प्राथमिकता दिइएको छ।

मन्त्रालयका प्रवक्ता श्रीप्रसाद भट्टराईले गत ११ साउनमा भएको सहमतिअनुसार सरकार कार्यान्वयनका लागि प्रतिबद्ध रहेको बताए।

चिकित्सा शिक्षा ऐन, २०७५ र राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०७७ को प्रभावकारी कार्यान्वयनमार्फत शिक्षालाई पारदर्शी, व्यवस्थित र गुणस्तरीय बनाइने मन्त्रालयले जनाएको छ। ऐनले छात्रवृत्ति, साझा प्रवेश परीक्षा, शुल्क नियमन र शिक्षण संस्थाको गुणस्तर मापदण्डलगायत व्यवस्था गरेको छ।