|  

जापानको जवाफ नआउँदै राजदूत थापाको भविष्यबारे निर्णय गर्ने तयारी

१३ कात्तिक, काठमाडाैं । जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाको नियुक्तिबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको छ।

आगामी सोमबार दिउँसो ३ बजे सिंहदरबारमा बस्ने बैठकले थापाको नाम अनुमोदन गर्ने वा नगर्ने विषयमा निर्णय लिने तयारी गरेको हो। थापाले जापानको स्थायी बसोबास अनुमतिपत्र (पीआर) त्यागेको दाबी गरे पनि त्यसको आधिकारिक पुष्टि हुन सकेको छैन। उनकी श्रीमतीको नाममा पीआर र जापानमा घरसमेत रहेको विषयले स्वार्थ बाझिने आशंका उब्जाएको छ। यसबारे समितिले परराष्ट्र मन्त्रालयमार्फत जापान सरकारसँग विवरण मागे पनि जवाफ प्राप्त भएको छैन। असोज २८ गतेको सुनुवाइमा चित्तबुझ्दो जवाफ नआएपछि थापाको अनुमोदन रोकिएको थियो। सरकारले सिफारिस गरेका १३ जनामध्ये अन्य १२ जनाको विषयमा निर्णय भइसकेको छ।

यसैबीच, संसदीय सुनुवाइका लागि तोकिएको ४५ दिने समयसीमा कात्तिक १९ गते सकिँदैछ। कानुनी व्यवस्थाअनुसार उक्त अवधिभित्र समितिले निर्णय नगरे प्रस्तावित नाम स्वतः अनुमोदन भएको मानिनेछ। त्यसैले जापान सरकारको जवाफ नआए पनि समयसीमा सकिनुअघि नै थापाको नियुक्तिबारे टुंगो लगाउने दबाबमा समिति परेको छ।