|  

डा. केसीको सत्याग्रहबीच सरकारको दाबी- चिकित्सा शिक्षा सुधारका काम जारी

१३ कात्तिक, काठमाडाैं । चिकित्सा शिक्षा सुधारको माग गर्दै डा. गोविन्द केसीले २५ औँ सत्याग्रह सुरु गरेकै बेला शिक्षा तथा खेलकुद मन्त्रालयले उनीसँग भएका सहमति कार्यान्वयन भइरहेको जनाएको छ।

मन्त्रालयले चिकित्सा शिक्षा आयोग स्थापना, छात्रवृत्ति व्यवस्थापन, साझा प्रवेश परीक्षा र विभिन्न प्रदेशमा चिकित्सा शिक्षाको पहुँच विस्तारलाई प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गरेको छ। मन्त्रालयका अनुसार गत साउन ११ गते भएको सहमति कार्यान्वयनका लागि कार्यदलसमेत सक्रिय छ।

यता, आवश्यक पूर्वाधार र जनशक्तिबिनै गेटामा एमबीबीएस तथा नर्सिङ कार्यक्रम सञ्चालनको अनुमति दिइएको र शिक्षण संस्थाहरूमा सिट वृद्धि गरिएको भन्दै डा. केसीले ती निर्णय खारेजीको मागसहित बिहीबारदेखि इलाममा सत्याग्रह थालेका छन्।