|  

नाइजेरियामा सैन्य अखडामा आक्रमण विफल, ४८ लडाकु मारिएको सेनाको दाबी

१४ कात्तिक, काठमाडौं । नाइजेरियाली सेनाले उत्तरपूर्वी क्षेत्रमा रहेका दुई सैन्य अखडामा सशस्त्र समूहले गरेको आक्रमण विफल पारेको दाबी गरेको छ।

सेनाका अनुसार जवाफी कारबाहीमा इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रोभिन्स (आईएसडब्ल्यूएपी)का ४८ जना संदिग्ध लडाकु मारिएका छन्।

बोर्नो र योबे राज्यका सैन्य अखडालाई लक्षित गरी बिहीबार राति र शुक्रबार बिहान आक्रमण भएको थियो। सेनाले हवाई सहयोगसहित दुवै आक्रमण नियन्त्रणमा लिएको जनाएको छ।

कारबाहीका क्रममा एक सैनिकको मृत्यु भएको र दुई जना घाइते भएका छन्। साथै, ५२ थान हतियार बरामद गरिएको सेनाले जनाएको छ।

‘अपरेसन हादिन काई’ अन्तर्गत सुरक्षा कारबाही गरिएको र सशस्त्र समूहको गतिविधि नियन्त्रण गर्न अभियानलाई निरन्तरता दिइने सेनाले जनाएको छ।

आईएसडब्ल्यूएपी उत्तरपूर्वी नाइजेरियामा सक्रिय सशस्त्र समूह हो, जसले बोको हरामसँगै लेक चाड क्षेत्रमा हिंसात्मक गतिविधि गर्दै आएको छ।