|  

कङ्गोमा इबोला महामारीको भयावह अवस्थाः ५ हजार बढीको मृ#त्यु

१५ कात्तिक, कामठाडौं ।  प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो)मा फैलिएको इबोला महामारीबाट हालसम्म ५ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ भने १० हजार ३०० भन्दा बढीमा संक्रमण पुष्टि भएको छ।

बीबीसीका अनुसार देशका २६ मध्ये ८ वटा प्रान्तमा फैलिएको यो महामारी गत मे महिनादेखि सुरु भएको हो।

अगस्टसम्म आइपुग्दा यो कङ्गोको इतिहासकै सबैभन्दा घातक इबोला प्रकोप बनेको सार्वजनिक स्वास्थ्य अधिकारीहरूले बताएका छन्। हाल महामारीको मृत्युदर ४८।६ प्रतिशत पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार उत्तरपूर्वी क्षेत्रको इटुरी प्रान्त महामारीको मुख्य केन्द्र बनेको छ। उक्त क्षेत्र द्वन्द्वग्रस्त भएकाले स्वास्थ्यकर्मी र उपचार टोलीलाई प्रभावित क्षेत्रमा पुग्न कठिनाइ भइरहेको छ।

संयुक्त राष्ट्रसङ्घका अनुसार कङ्गोमा यो इबोलाको १७औँ प्रकोप हो भने विश्व इतिहासकै दोस्रो ठूलो इबोला महामारी हो । विश्व स्वास्थ्य सङ्गठनको अफ्रिका कार्यालयले संक्रमण नियन्त्रणका लागि स्वास्थ्य सुरक्षा उपाय विस्तार, प्रभावित क्षेत्रमा सहज पहुँच र जनचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिएको छ।

हाल फैलिएको महामारी ‘बुन्डिबुग्यो’ प्रजातिको इबोला भाइरसका कारण भएको हो। यस प्रजातिका लागि हालसम्म स्वीकृत खोप वा उपचार उपलब्ध नभएकाले नियन्त्रणमा थप चुनौती देखिएको छ।

रेडक्रसका अनुसार प्रकोपको पहिलो १०० दिनमा ११ वटा हिंसात्मक घटना भएका थिए। ती घटनामा स्वयंसेवक घाइते हुनुका साथै एम्बुलेन्समा समेत आगजनी गरिएको थियो।

इबोला एक दुर्लभ तर घातक सरुवा रोग हो। यसका लक्षणमा अचानक ज्वरो आउने, उल्टी हुने, पखाला लाग्ने तथा शरीरका भित्री अङ्गमा असर पर्ने जस्ता समस्या देखिन्छन्। संक्रमित व्यक्तिको रगत, उल्टी तथा अन्य शारीरिक तरल पदार्थको प्रत्यक्ष सम्पर्कबाट यो रोग एक व्यक्तिबाट अर्कोमा सर्न सक्छ।