|  

ट्राफिक प्रहरीलाई एसएसपीको चेतावनी : अनियमितता गरे जागिरबाटै हात धुनुपर्ने

१५ कात्तिक, काठमाडाैं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी सुरेशप्रसाद काफ्लेले आर्थिक अनियमितता र प्रहरी आचरणविपरीतका गतिविधिमा संलग्न कर्मचारीलाई कुनै छुट नदिने चेतावनी दिएका छन् ।

आइतबार सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनसम्बन्धी कार्यक्रममा उनले राज्यले दिएको तलब तथा सुविधामा सन्तुष्ट रहन र व्यक्तिगत स्वार्थभन्दा नागरिकको हितलाई प्राथमिकता दिन निर्देशन दिए । चालु आर्थिक वर्ष सुरु भएयता मात्रै आचरणविपरीत काम गर्ने २० देखि २५ जना प्रहरी कर्मचारीले जागिर गुमाइसकेको उनले जानकारी दिए । सडकमा खटिँदा परिस्थितिअनुसार स्वविवेकीय अधिकार प्रयोग गर्नुपर्नेमा जोड दिँदै काफ्लेले ट्राफिक प्रहरीको व्यवहार मर्यादित, जिम्मेवार र सेवामुखी हुनुपर्ने बताए । जानाजान कानुन उल्लङ्घन गर्नेलाई भने कानुनअनुसार कारबाही गर्न उनले निर्देशन दिए ।