|  

एनपीएलमा आज काठमाडौं र कर्णाली तथा सुदूरपश्चिम र चितवन भिड्ने

१६ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज सोमबार दुई खेल हुँदैछन्।

पहिलो खेलमा काठमाडौं गोर्खाज र कर्णाली याक्स तथा दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्नेछन् । पहिलो खेल दिउँसो १२ः३० बजे र दोस्रो खेल साँझ ५ बजे सुरु हुनेछ ।

अंकतालिकाको पुछारमा रहेको काठमाडौं पहिलो जितको खोजीमा रहँदा शीर्ष स्थानको कर्णाली लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । कर्णालीले यसअघि जनकपुर बोल्ट्स र विराटनगर किंग्सलाई पराजित गरिसकेको छ।

त्यस्तै, तीन खेलमा एक जित र दुई हार व्यहोरेको सुदूरपश्चिम चितवनविरुद्ध जित निकाल्न चाहन्छ।  चितवन भने प्रतियोगितामा अहिलेसम्म अपराजित छ। पहिलो खेलमा जित हात पारेको चितवनको दोस्रो खेल वर्षाका कारण रद्द भएपछि अंक बाँड्नु परेको थियो ।