|  

गाँजा बोकेर भाग्न खोजेपछि प्रहरीले चलायो दुई राउन्ड गोली, २१० किलो गाँजासहित पाँच जना पक्राउ

१६ कात्तिक, काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिका–२० च्यानडाँडाबाट प्रहरीले करिब २१० किलो गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ।

सोमबार बिहान करिब ३ बजे दुईवटा जिपमा गाँजा लोड भइरहेको अवस्थामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार पक्राउबाट बच्न गाँजा बोकेर भाग्न खोजेपछि दुई राउन्ड हवाई फायर गरिएको थियो।

प्रहरीले बा.१ च ५०३८ र को।१ च ८१८२ नम्बरका जिपमा खानतलासी गर्दा आठवटा पोकामा राखिएको करिब २१० किलो गाँजा बरामद गरेको जनाएको छ।

पक्राउ पर्नेमा सप्तरीका रामसागरकुमार यादव, राजेन्द्रप्रसाद मण्डल, राजकुमार शाह, सुनसरीका अमृत बिशुङ्खे र भारतको बिहारस्थित मधुबनीका सन्तोष ठाकुर रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।