|  

स्वास्थ्य अवस्था बिग्रिएपछि डा.गोविन्द केसीलाई काठमाडौं ल्याइँदै, लिन हेलिकप्टर इलाम पुग्दै

१६ कात्तिक, काठमाडौं । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि प्राध्यापक डा. गोविन्द केसीलाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी गरिएको छ।

केसीलाई लिन सोमबार काठमाडौं‌बाट हेलिकप्टर उडिसकेको छ। उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ।

टाइप–२ मधुमेहबाट पीडित केसीको रगतमा ग्लुकोजको मात्रा निकै घटेको र पिसाबमा एसिटोनको मात्रा बढेको स्वास्थ्य परीक्षणबाट देखिएको छ।

स्वास्थ्य अवस्था थप बिग्रिँदै गएपछि विशेष उपचार आवश्यक रहेको चिकित्सकले बताएका छन्। विभिन्न माग राख्दै डा। केसीले बिहीबार साँझदेखि इलामको नारायणस्थान मन्दिर परिसरमा अनशन सुरु गरेका थिए।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई इलाम अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।