|  

रसेलको अलराउण्ड प्रदर्शनमा विराटनगरको रोमाञ्चक जित, जनकपुर २ रनले पराजित

१७ कात्तिक, काठमाडाैं । आन्द्रे रसेलको विस्फोटक ब्याटिङ र घातक बलिङको मद्दतमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको छ।

अन्तिम बलसम्म रोमाञ्चक बनेको खेलमा रसेलले ब्याटिङमा अविजित ५२ रन बनाउनुका साथै बलिङमा ४ विकेट लिएपछि विराटनगरले लगातार दोस्रो जित निकालेको हो। पहिले ब्याटिङ गरेको विराटनगरले इमरान शेख (५६), लोकेश बम (५०) र रसेलको अर्धशतकको मद्दतमा २० ओभरमा ३ विकेट गुमाएर १७४ रन बनाएको थियो। जवाफमा जनकपुरले सेफ हसनको ७१ र विशाल सुशीलिङको ४३ रनका बाबजुद निर्धारित ओभरमा ७ विकेट गुमाएर १७२ रन मात्रै बनाउन सक्यो। अन्तिम बलमा रसेलले सेफ हसनलाई आउट गरेपछि जनकपुरको जित्ने सम्भावना समाप्त भएको थियो।

याेसँगै विराटनगरले सुरुवाती दुई खेलमा हार बेहोरेपछि लगातार दोस्रो जित निकाल्दै चार खेलबाट ४ अंक जोडेको छ। जनकपुरले पनि समान खेलबाट ४ अंक जोडेको छ। यस खेलमा इमरान शेख र लोकेश बमले अर्धशतक बनाएसँगै एनपीएल इतिहासमा एउटै खेलमा दुई नेपाली ब्याटरले अर्धशतक बनाएको यो पहिलो अवसर बनेको छ।