|  

न्यायालयबारे सार्वजनिक समाचारकै आधारमा दोषी ठहर गर्न मिल्दैन : एमाले उपनेता अर्याल

१७ कात्तिक, काठमाडाैं । नेकपा एमालेकी उपनेता पद्मा अर्यालले न्यायाधीश र न्यायालयसँग जोडिएका विषय सार्वजनिक हुँदैमा कसैलाई दोषी ठहर गर्न नमिल्ने बताएकी छन्। यद्यपि यस्ता घटनाले न्यायालयप्रति जनताको विश्वास कमजोर बनाउन सक्ने भएकाले निष्पक्ष र गहिरो छानबिन आवश्यक रहेको उनको भनाइ छ।

उनले न्याय परिषद्, सर्वोच्च अदालतको पूर्ण बैठक वा संसदीय समितिमार्फत घटनाको छानबिन गर्न सकिने बताइन्। पक्राउ परेका विचौलिया इनम सापकोटासँग प्रधानन्यायाधीश तथा सर्वोच्चका न्यायाधीशहरूको सम्पर्क रहेको विषय सार्वजनिक भएपछि न्यायालयमाथि छानबिन र महाभियोगको बहस चलिरहेका बेला अर्यालको यस्तो धारणा आएको हो।