|  

रौतहटको गौरमा १ युवकमाथि पाँच राउन्ड गोली प्रहार, अवस्था गम्भीर

१८ कात्तिक, काठमाडौं । रौतहटको सदरमुकाम गौरमा अज्ञात समूहले एक युवकलाई लक्षित गरी पाँच राउन्ड गोली प्रहार गरेको छ ।

गोली लागेर गौर नगरपालिका–४ गढवा निवासी रामविलास यादवका छोरा राकेश कुमार यादव गम्भीर घाइते भएका छन् । मंगलबार राति करिब ९ः१५ बजे गढवा गाउँस्थित पानी ट्यांकी नजिक यादवमाथि अज्ञात व्यक्तिले एक्कासि पाँच राउन्ड गोली प्रहार गरेका थिए। गोली चलेपछि घटनास्थलमा त्रास फैलिएको थियो।

गोली लागेर गम्भीर घाइते भएका यादवलाई तत्काल उपचारका लागि अस्पताल पुर्‍याइएको थियो। हाल उनको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ।

घाइते यादवको सिटी स्क्यान गर्दा पिठ्युँमा दुई र हातमा एक गरी तीनवटा गोली लागेको देखिएको छ। पाँच राउन्ड गोली प्रहार भएको घटनामा तीनवटा गोली लागेको पुष्टि भएको हो।

घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थलको अनुसन्धान गर्नुका साथै गोली प्रहार गर्ने व्यक्ति तथा सम्भावित आक्रमणकारीको खोजी सुरु गरेको छ।

युवकमाथि कसले र किन गोली प्रहार गर्‍यो भन्ने विषयमा हालसम्म खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।