|  

फेसबुक र इन्स्टाग्राममा कुकुर तिहारसम्बन्धी रिल्स भिडिओ बनाउँदा १ लाख रुपैयाँ जित्ने अवसर

१८ कात्तिक, काठमाडौं । नेपाल पर्यटन बोर्डले कुकुर तिहारको अवसरमा ‘कुकुर तिहार रिल कन्टेस्ट २०२६’ घोषणा गरेको छ ।

प्रतियोगितामा उत्कृष्ट रिल बनाउने एक जना विजेताले एक लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन्।नेपालको मौलिक संस्कृति, परम्परा तथा मानिस र कुकुरबीचको आत्मीय सम्बन्धलाई डिजिटल माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बोर्डले जनाएको छ।

प्रतियोगितामा सहभागी हुन इच्छुकले कुकुर तिहारको महत्त्व झल्किने मौलिक भिडियो तयार गरी आफ्नो फेसबुक वा इन्स्टाग्राम अकाउन्टमा सार्वजनिक गर्नुपर्नेछ । भिडियो अंग्रेजी भाषामा वा अंग्रेजी सबटाइटलसहित हुनुपर्नेछ ।

सहभागीहरूले भिडिओ पोस्ट गर्दा अनिवार्य रूपमा दुईवटा ह्यासट्याग #NepalFestival र #KukurTihar प्रयोग गर्नुपर्नेछ । यसका साथै, इन्स्टाग्राममा भिडिओ राख्दा @nepaltourism र फेसबुकमा राख्दा नेपाल पर्यटन बोर्डको आधिकारिक पेजलाई ट्याग गर्नुपर्नेछ ।

सामाजिक सञ्जालमा भिडिओ प्रकाशित गरिसकेपछि सहभागीले उक्त भिडिओ र सहजै डाउनलोड तथा हेर्न मिल्ने अनुमति (एक्सेस पर्मिसन) दिइएको गुगल ड्राइभ लिङ्क [email protected] मा ईमेलमार्फत पठाउनुपर्नेछ ।

साथै, भिडियो र डाउनलोड गर्न मिल्ने गुगल ड्राइभ लिंक बोर्डले तोकेको इमेलमा पठाउनुपर्नेछ।प्रतियोगितामा पठाइने भिडियो मौलिक हुनुपर्नेछ।

बोर्डले प्राप्त सामग्री पर्यटन प्रवर्द्धन तथा प्रचारप्रसारका लागि प्रयोग गर्न सक्ने जनाएको छ।प्रतियोगितामा सहभागी हुन भिडियो पठाउने अन्तिम म्याद आगामी ५ मंसिर तोकिएको छ।