|  

राष्ट्रिय अनुसन्धानका प्रमुख अनुसन्धान अधिकृत भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा

१८ कात्तिक, काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत हिराबाबु भट्टराईविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी पदोन्नति र सेवा सुविधा लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारका अनुसार भट्टराईले भारतको बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिल, पटनाबाट आईए उत्तीर्ण गरेको भन्दै २०५५ वैशाख ८ गते विभागमा प्रमाणपत्र पेस गरेका थिए । तर, सम्बन्धित निकायबाट प्रमाणीकरण गर्दा उनको नाम र प्राप्ताङ्क अभिलेखसँग मेल नखाएको पाइएको छ।

उक्त प्रमाणपत्रकै आधारमा उनले सहायक निरीक्षकदेखि बढुवा हुँदै २०७५ फागुन १३ गते प्रमुख अनुसन्धान अधिकृतको पद प्राप्त गरेको अख्तियारको आरोप छ।

भट्टराईविरुद्ध साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ र भ्रष्टाचार निवारण ऐन, २०५९ का विभिन्न दफाअनुसार सजाय माग गर्दै बुधबार विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।