|  

सरकारको कार्यशैलीमाथि नेकपाको प्रश्न : पत्रकारदेखि न्यायाधीशसम्म त्रसित भएको सांसद शर्माको आरोप

१८ कात्तिक,काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सरकारको कार्यशैली, सुशासन, मानव अधिकार र राज्यका निकायको निष्पक्षतामाथि प्रश्न उठाएको छ।

नेकपा सांसद बलावती शर्माले पत्रकार, व्यवसायी, कर्मचारी, प्रहरी प्रशासनदेखि न्यायालयसम्म त्रासको वातावरण सिर्जना भएको आरोप लगाएकी छन्। प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा बोल्दै शर्माले सरकारका निर्णय र कामकारबाही पारदर्शी नभएको बताइन्। प्रहरीलाई सञ्चारमाध्यममा हस्तक्षेप गर्न कसले आदेश दिएको हो भन्ने प्रश्न गर्दै उनले प्रहरी प्रशासनमा राजनीतिक दबाब र हस्तक्षेप बढेको आरोपसमेत लगाइन्। उनले कर्मचारी र निजी क्षेत्रमाथिको दबाब, सुनकोशी मरिण आयोजनाका प्रमुखको पक्राउ, इनाम सापकोटा प्रकरण तथा न्यायाधीशमाथि उठेका प्रश्नको निष्पक्ष छानबिन हुनुपर्ने माग गरिन्। थुनामा रहेका व्यक्तिको अडियो सार्वजनिक भएको विषय, प्रधानमन्त्रीका सल्लाहकारको घरमा मोबाइल भेटिएको भनिएको प्रकरण र न्यायालयमा भइरहेको विवादबारे पनि सरकारले जवाफ दिनुपर्ने उनको भनाइ थियो।

शर्माले सरकार जनताप्रति जवाफदेही भएर सञ्चालन भइरहेको छ कि अन्य कुनै शक्तिको प्रभावमा छ भन्दै प्रश्नसमेत उठाइन्। उनले राज्यका निकाय प्रयोग गरेर नागरिक, सञ्चारमाध्यम र निजी क्षेत्रलाई त्रसित बनाउने प्रवृत्ति अन्त्य गर्न माग गरिन्।