|  

प्रधानमन्त्री बालेनलाई एमाले सांसदको पत्र : सामाजिक सञ्जालका आश्वासनले मात्र देश चल्दैन

१८ कात्तिक,काठमाडौं । नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले प्रधानमन्त्री बालेन्द्र शाहलाई सरकारको कार्यशैलीप्रति सचेत गराउँदै संसदीय समितिमार्फत पत्र लेखेकी छन्।

प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा पत्र पढ्दै उनले सामाजिक सञ्जालका अभिव्यक्ति र आश्वासनले मात्रै देश सञ्चालन नहुने बताइन्। त्यसका लागि जिम्मेवार नेतृत्व, स्पष्ट कार्ययोजना र समयमै सही निर्णय आवश्यक रहेको उनको भनाइ थियो। उनले देशमा बढ्दो अन्योल, अस्थिरता र नागरिकमा देखिएको असुरक्षाप्रति चिन्ता व्यक्त गर्दै नागरिक सुरक्षा, सुशासन, रोजगारी र आर्थिक स्थायित्वलाई सरकारको प्राथमिकतामा राख्न आग्रह गरिन्।

राजनीतिक अभिव्यक्तिभन्दा कामलाई प्राथमिकता दिन र सरकारी निकायलाई जिम्मेवार बनाउन प्रधानमन्त्रीलाई आग्रह गर्दै उनले सरकारलाई सचेत गराउनु विरोध नभई देशप्रतिको जिम्मेवारी भएको बताइन्।