|  

न्यायपालिकाको आमूल सुधार र पुनर्संरचना गर्न पूर्वन्यायाधीश फोरमको आग्रह

१८ कात्तिक,काठमाडाैं । पूर्वन्यायाधीश फोरम नेपालले न्यायपालिकाको स्वतन्त्रता, निष्पक्षता र गरिमामाथि प्रश्न उठ्न थालेको भन्दै आमूल सुधार र पुनर्संरचनाका लागि पहल गर्न आग्रह गरेको छ।

प्रेस विज्ञप्ति जारी गर्दै फोरमले सर्वोच्च अदालतका केही न्यायाधीशको आचरण, न्यायिक नेतृत्वको भूमिका तथा न्यायालयभित्र देखिएका विवादप्रति गम्भीर चिन्ता व्यक्त गरेको हो। न्यायाधीशहरूले आचारसंहिता पूर्ण पालना गर्नुपर्ने र भ्रष्टाचार तथा विकृतिविरुद्ध शून्य सहनशीलता अपनाउनुपर्ने फोरमको भनाइ छ। विवादमा परेका न्यायाधीशमाथि तथ्य र प्रमाणका आधारमा निष्पक्ष छानबिन गरी संवैधानिक प्रक्रियाबाट आवश्यक कदम चाल्न पनि उसले माग गरेको छ।

सामान्य सुधारले मात्रै न्यायपालिकाका समस्या समाधान नहुने भन्दै फोरमले पुनर्संरचना र न्यायाधीशहरूको पुनर्नियुक्तिसमेतका विकल्पमा सरोकारवालाबीच छलफल अघि बढाउन आग्रह गरेको छ।