|  

एनपीएलमा सट्टेबाजी गर्ने भारतीय नागरिक पक्राउ

१९ कात्तिक, काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ मा अनलाइनमार्फत सट्टेबाजी गराएको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य, भोजपुर थाना निवासी ३२ वर्षीय सोनुकुमार सिन्हा रहेका छन् । उनी काठमाडौं महानगरपालिका–१७ ठमेलमा बस्दै आएका थिए ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी एनपीएलका क्रममा केही व्यक्तिले अनलाइनमार्फत सट्टेबाजी गर्ने–गराउने गरेको सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

सिन्हाले विभिन्न अनलाइन बेटिङ साइटमार्फत रु.८९ लाख ८१ हजार ७२९ बराबरको कारोबार गरेको खुलेको प्रहरीले जनाएको छ ।

उनलाई जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसुरमा आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।