|  

 वर्तमान सरकार भय र भ्रम सिर्जना गरेर कांग्रेसलाई तर्साउने प्रयासमा लाग्योः  कांग्रेस सहमहामन्त्री शिवाकोटी

१९ कात्तिक, काठमाडाैं ।  नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले वर्तमान सरकार भय र भ्रम सिर्जना गरेर कांग्रेसलाई तर्साउने प्रयासमा लागेको आरोप लगाएका छन् ।

नेपाल प्रहरीको साइबर ब्युरोले सोधपुछका लागि बोलाएपछि उपस्थित भएका शिवाकोटीले ब्युरोबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।

शिवाकोटीले भने– ‘सरकार भय र भ्रम सिर्जना गर्न लागिरहेको छ । भ्रमबाट नआत्तिएकाहरूलाई भय देखाएर अत्याँउने सरकारको गतिविधि देखिएको छ।’

सरकारलाई आगोमा हात नहाल्न चेतावनी दिँदै उनले त्यस्तो दुस्साहस गरिए सरकार र नेतृत्वले नै त्यसको ठुलो मूल्य चुकाउनुपर्ने बताए।

शिवाकोटीले अगाडि भने– ‘यो आगोमा हात हाल्ने प्रयास हो। अफवाह र प्रोपोगान्डा फैलाएर हामीलाई लखेटिहाल्छौँ, लपेटिहाल्छौँ भन्ने भ्रममा सरकार छ भने, त्यो भ्रमबाट सरकार चाँडै निस्किए हुन्छ।’