|  

‘सरकारले चाहे जस्तो पत्रकारिता गर्न सक्दैनौँ, सञ्चारमन्त्रीले पत्रकारिता नसिकाए हुन्छ’

१९ कात्तिक, काठमाडाैं । सञ्चार क्षेत्रका सरोकारवालाहरूले प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढेको भन्दै त्यसका विरुद्ध आन्दोलनमा उत्रिनुपर्ने बताएका छन् ।

बिहीवार काठमाडौंमा नेपाल पत्रकार महासंघ, केन्द्रिय समितिले आयोजना गरेको ‘मिडिया काउन्सिल विधेयकः आमसञ्चार कानुन र प्रेस स्वतन्त्रताको रक्षा’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाहरुले यस्तो बताएका हुन् । प्रेस नियन्त्रणकारी कानुन निर्माण प्रक्रिया अघि बढ्न नदिन, अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न र पत्रकारिताका आधारभूत मूल्य तथा मान्यताको संरक्षणका लागि सामूहिक आन्दोलनमा उत्रिनुको विकल्प नरहेको उनीहरुको भनाइ छ । प्रेस सेन्टर नेपालका अध्यक्ष कमल गिरीले सरकारले पत्रकारिताको परिभाषा आफैँ निर्धारण गर्न खोजेको आरोप लगाउनु भयो । उहाँले लोकतन्त्र र प्रेस एकअर्काका परिपूरक भएको उल्लेख गर्दै पत्रकारिताका आधारभूत मूल्यमान्यताको रक्षाका लागि समेत आन्दोलनमा उत्रिनुको विकल्प नरहेको बताउनु भयो । उहाँले आन्दोलनको अगुवाइ गर्न पत्रकार महासंघ तयार भए प्रेस सेन्टरका सबै जिल्ला समिति आन्दोलनमा सहभागि गराउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । उहाँले सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले जहाँ गयो त्यही पत्रकारिताको पाठ सिकाउने गरेको भन्दै आपत्ति समेत जनाउनु भयो । 
उहाँले भन्नुभयो, ‘अब हामीले आन्दोलन गर्नुको विकल्प छैन । पत्रकारिताका आधारभूत मूल्यमान्यता तोड्ने र प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपका विरुद्ध आन्दोलनमा जानुपर्छ । अहिले सञ्चारमन्त्री जहाँ जानुहुन्छ, उहाँले पत्रकारिताको पाठ सिकाउनुहुन्छ । उहाँले जे चाहनुहुन्छ हामीले त्यस्तै पत्रकारिता गरिदिनुपर्ने भएको छ । सरकारले चाहेको पत्रकारिता गरिदिनुपर्ने भएको छ । यसका विरुद्ध आन्दोलनमा जाऔँ ।’

नेपाल पत्रकार महासंघका पूर्वउपाध्यक्ष रमेश विष्टले प्रेस स्वतन्त्रतामाथि हुने हस्तक्षेपविरुद्ध समयमै प्रतिवाद गर्न नसक्दा सञ्चारगृह र पत्रकारमाथि धरपकड हुने अवस्था आएको बताउनु भयो ।  उहाँले प्रहरीले पत्रकार पक्राउ गर्ने विषयमा अग्रिम सूचना जारी गर्दा समेत महासंघले त्यसको प्रतिवाद गर्न सकेको भए पछिल्लो घटना फरक हुन सक्ने उहाँको भनाइ छ । उहाँले प्रेस स्वतन्त्रता अनुगमन र मिडिया अनुगमनका लागि विशेष संयन्त्र बनाउन समेत महासंघलाई सुझाव दिनुुभयो । उहाँले भन्नुभयो, ‘हामीले सल्लाह र धारणा बनाउँदा बनाउँदै कहिलेकाहीँ ढिला हुने रहेछ । अस्ति केही साथीहरूलाई धरपकड गर्यो । त्योभन्दा अघिल्लो दिन राति १० बजे नै प्रहरीले विज्ञप्ति निकालेर हामी समात्दै छौँ भनिसकेको थियो । हामीले त्योभन्दा अगाडि नै मिडियामाथिको धम्की हो, प्रहरीले प्रेसलाई धम्क्यायो, प्रेसमाथि धरपकड गर्ने आशय राखेर यो विज्ञप्ति जारी गरेको छ भनेर हामीले पहिले प्रतिवाद गर्न सकेको भए सायद त्यसरी मिडिया हाउससम्म प्रहरी हाइहाल्ने स्थिति नहुन सक्थ्यो । त्यो कारणले हाम्रो मिडिया अनुगमन गर्ने, प्रेस स्वतन्त्रता अनुगमन गर्ने कुरालाई पनि यो विशेष परिस्थिति भएको हुनाले हामीले अलिकति विशिष्ट ढङ्गकै प्रबन्ध गरेर अगाडि बढ्नु पर्छ भन्ने लाग्छ ।’

प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष तथा वरिष्ठ पत्रकार राजेन्द्र दाहालले प्रेस स्वतन्त्रताको संरक्षणका लागि राज्यले नियन्त्रणकारी कानुन निर्माण गर्नेभन्दा सञ्चार क्षेत्रलाई स्वनियमनको अवसर दिनुपर्नेमा जोड दिनुभयो । उहाँले पत्रकारहरू आफ्ना पेसागत मूल्य, अन्तर्राष्ट्रिय मापदण्ड र आचारसंहिताबारे जानकार रहेको उल्लेख गर्दै प्रेससम्बन्धी कानुनको संख्या बढाएर नियन्त्रण गर्न खोज्नु उचित नहुने बताउनु भयो ।  दाहालले प्रेस काउन्सिल ऐन, २०४८ संशोधनको विषय लामो समयदेखि चर्चामा रहेपनि सरोकारवालासँग समन्वय नै नगरीकन अध्यादेशमार्फत ल्याउन खोज्नु आपत्तिजनक रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘पत्रकारिता जगत धान्नको लागि हामी पत्रकारहरु सक्षम छौँ ।  हामीलाई देश दुनियाका स्ट्याण्डर्डहरु के हुन् सबै थाहा छ । मुलुक र समाजको सम्मान कसरी राख्न सकिन्छ भन्ने कुरामा सरकारी कर्मचारीभन्दा हामी बेटर सोच्छौँ । हाम्रो आइडिया अझ बेटर छ । त्यसकारणले हामीले अब भन्न थाल्नुपर्छ सकेसम्म हामीलाई धेरै कानून नबनाउ । हामीलाई स्वनियमनको अवसर देउ ।’

प्रेससम्बन्धी विषयमा राज्यको हस्तक्षेप घटाउँदै पत्रकार महासंघ र सञ्चार क्षेत्रलाई आफ्नै आचारसंहिता तथा स्वनियमनको व्यवस्थामा सरकारको ध्यान केन्द्रित हुनुपर्नेममा उहाँको जोड छ । –न्युज एजेन्सी नेपाल