|  

मधेश सरकारबाट बाहिरिँदै नेकपा, मन्त्रीहरू राजीनामा बुझाउन जाँदै

२० कात्तिक, काठमाडौं । मधेश प्रदेशमा नयाँ सत्ता समीकरण बन्ने भएपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सरकारबाट बाहिरिने भएको छ । नेकपाका चार मन्त्रीले राजीनामा दिने तयारी गरेका छन्।

शुक्रबार बसेको नेकपा संसदीय दलको भर्चुअल बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि बसेको बैठकले यस्तो निर्णय गरेको बताइएको छ।

निर्णयअनुसार केहीबेरमै नेकपाका चार मन्त्रीले मधेश प्रदेश सरकारलाई राजीनामा बुझाउने तयारी गरेका छन्।

राजीनामा दिने तयारीमा रहेका मन्त्रीहरूमा संसदीय दलका नेता तथा अर्थमन्त्री युवराज भट्टराई, उद्योग, पर्यटनमन्त्री कनिष पटेल, गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो र ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री जवाहर कुशवाहा रहेका छन्।

गत असोज ३० गते नेकपा एमालेले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार अल्पमतमा परेको थियो। त्यसयता नेकपाले कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्दै आएको थियो।

मधेश प्रदेश सरकारलाई विश्वासको मत लिन अब आठ दिन मात्रै बाँकी रहेको छ। यसैबीच नेकपा एमालेले जसपा र नेकपासहितको नयाँ सत्ता समीकरण बन्ने दाबी गरेको छ।