|  

कोप-३१ मा नेपालको नेतृत्व गर्दै परराष्ट्रमन्त्री खनाल टर्की जाँदै

२० कात्तिक, काठमाडाैं । जलवायु परिवर्तनका मुद्दामा नेपालको धारणा अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न परराष्ट्रमन्त्री शिशिर खनाल शनिबार टर्की प्रस्थान गर्ने भएका छन् ।

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी टर्की जान लागेका हुन् । टर्कीको आन्ताल्यामा नोभेम्बर ९ देखि २० सम्म आयोजना हुने सम्मेलनको उद्घाटन सत्रमा मन्त्री खनालले नोभेम्बर ९ मा सम्बोधन गर्नेछन् । त्यस्तै, नोभेम्बर ११ र १२ मा हुने विश्व नेताहरूको शिखर सम्मेलनमा पनि उनी सहभागी हुने कार्यक्रम छ ।

सम्मेलनमा नेपालसहित ताजिकिस्तान, किर्गिजस्तान, भुटान र पाकिस्तानको संयुक्त आयोजनामा हिमाली क्षेत्रका हिमनदी, क्रायोस्फियर संरक्षण, जलवायु उत्थानशीलता र दिगो वित्तीय व्यवस्थापनसम्बन्धी उच्चस्तरीय कार्यक्रममा समेत खनाल सहभागी हुनेछन् । यस क्रममा उनले विभिन्न उच्चस्तरीय छलफल तथा साइड इभेन्टमा भाग लिनुका साथै अन्य देशका समकक्षी मन्त्री र विशिष्ट व्यक्तित्वहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । खनाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी, राष्ट्रिय योजना आयोगका सदस्य प्रा. डा. सञ्जय आचार्य, मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रसहित नौ जना सरकारी अधिकारी रहनेछन् । मन्त्री खनाल नोभेम्बर १४ मा नेपाल फर्कने कार्यक्रम छ ।