|  

चुनावपछि अमेरिकी सेयर बजारमा ३ ट्रिलियन डलर गुमेको ट्रम्पको दाबी

२३ कात्तिक, काठमाडौं ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि निर्वाचनको नतिजापछि अमेरिकी सेयर बजारमा एकै दिन ३ ट्रिलियन डलर बराबरको बजार मूल्य घटेको दाबी गरेका छन्।

आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत ट्रम्पले निर्वाचनको नतिजाले अमेरिका इतिहासमै धेरै पछाडि धकेलिएको टिप्पणी गरेका छन्। उनले आफ्नो नेतृत्वमा तीव्र गतिमा अघि बढिरहेको सेयर बजारले निर्वाचनपछि ठूलो क्षति बेहोर्नुपरेको दाबी गरेका हुन्।

ट्रम्पले बजार पुनः पहिलेभन्दा बलियो भएर फर्किने विश्वाससमेत व्यक्त गरेका छन्।

शुक्रबार फ्लोरिडामा पत्रकारहरूसँग कुरा गर्दै उनले डेमोक्र्याटहरूले निर्वाचनमा राम्रो प्रदर्शन गरेको खबर सार्वजनिक भएपछि बजारमा करिब ३ ट्रिलियन डलर बराबरको मूल्य घटेको बताएका थिए।

यद्यपि, बजारमा आएको गिरावटको कारण निर्वाचनको नतिजा मात्र नभई प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा भइरहेको लगानीप्रतिको चिन्ता पनि रहेको बताइएको छ।