|  

दैलेखमा बिरामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृ#त्यु, पाँच घाइते

२३ कात्तिक, काठमाडौं । दैलेखमा बिरामी बोकेर सुर्खेत जाँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

सोमबार बिहान साढे ५ बजेतिर गुराँस गाउँपालिका–१ काफलतोलीस्थित कर्णाली राजमार्गमा जिप सडकबाट करिब ३०० मिटर तल खसेर दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार दुर्घटनामा परी कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–७ का ४१ वर्षीय रने सार्कीको उपचारका क्रममा मृत्यु भएको हो।

कर्णाली प्रदेश ०२–००१ च १२१५ नम्बरको उक्त जिप अक्सिजनसहित बिरामीलाई उपचारका लागि कालिकोटबाट सुर्खेत लैजाने क्रममा दुर्घटनामा परेको थियो।

दुर्घटनामा चालक २२ वर्षीय योगेश सिम्खडा गम्भीर घाइते भएका छन्। अन्य घाइतेमा १८ वर्षीय गंग सार्की, २१ वर्षीय तपेन्द्र सिम्खडा, ३६ वर्षीया जादुकाल सार्की र २७ वर्षीया कैसी सार्की रहेका छन्।

घाइते सबैलाई थप उपचारका लागि सुर्खेत पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।