|  

‘टाइम’ को १०० प्रभावशाली व्यक्तिको सूचीमा अर्थमन्त्री

२४ कात्तिक, काठमाडौं  । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिकी चर्चित पत्रिका ‘टाइम’ को सन् २०२६ का १०० प्रभावशाली व्यक्तित्वको सूचीमा परेका छन्। उनी ‘जलवायु मुद्दा : विश्वका १०० प्रभावशाली व्यक्तित्व’ शीर्षकअन्तर्गत सूचीकृत भएका हुन्।

दिगो आर्थिक विकासको क्षेत्रमा विगत २८ वर्षदेखि अध्येता, नीतिनिर्माता तथा निर्वाचित राजनीतिज्ञका रूपमा सक्रिय वाग्लेलाई जलवायु न्याय, जलवायु वित्त व्यवस्थापन र अन्तर्राष्ट्रिय प्रणालीगत सुधारमा पुर्‍याएको योगदानका आधारमा सूचीमा समावेश गरिएको हो।

विशेषगरी रसुवा–भोटेकोशी बाढीपछि जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय मञ्चमा गरेको पैरवी, जलवायु वित्त जुटाउने पहल तथा स्रोत व्यवस्थापन र अन्तर्राष्ट्रिय प्रणाली सुधारसम्बन्धी विचारलाई टाइमले उल्लेखनीय मानेको छ।

१०३ वर्षको इतिहास बोकेको टाइम पत्रिकाको उक्त सूचीमा वाग्लेसँगै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस, बेलायती राजकुमार विलियम र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनलगायत विश्वका चर्चित व्यक्तित्व पनि समावेश छन्।