|  

चार खेल, चार जित : एनपीएलमा अपराजित यात्रा टुंग्याउँदै स्वदेश फर्किए डेभिड वार्नर

२४ कात्तिक, काठमाडौं । अस्ट्रेलियाका पूर्वक्रिकेटर डेभिड वार्नर नेपाल प्रिमियर लिग (एनपीएल) मा आफ्नो छोटो तर प्रभावशाली यात्रा पूरा गर्दै स्वदेश फर्किएका छन्।

काठमान्डु गोर्खाजबाट चार खेल खेलेका वार्नरले सबै खेलमा टोलीलाई जित दिलाउँदै नेपालबाट बिदा भएका हुन्। गोर्खाजका म्यानेजर दीपक केसीले सामाजिक सञ्जालमार्फत वार्नरलाई धन्यवाद दिँदै उनको स्वदेश फिर्तीको जानकारी दिएका छन्। केसीले टोली र नेपाली क्रिकेटका लागि वार्नरले दिएको योगदानको प्रशंसा गर्दै सुरक्षित यात्राको शुभकामना दिएका छन्। साथै, भविष्यमा पुनः भेट हुने आशा पनि व्यक्त गरेका छन्। एनपीएलमा चार खेल खेलेका वार्नरले कुल १२७ रन जोडेका थिए। उनको उपस्थितिले काठमान्डु गोर्खाजको ब्याटिङ लाइनअपमा अनुभव र आत्मविश्वास थपेको थियो।

वार्नरको नेपाल बसाइ छोटो रहे पनि उनको प्रदर्शन यादगार बनेको छ। उनले खेलेका चारै खेलमा काठमान्डु गोर्खाज विजयी भयो। यससँगै चार खेल, चार जितको सुखद संयोग बोकेर वार्नरले आफ्नो एनपीएल यात्रा समाप्त गरेका छन्।