|  

एनपीएलमा आज विराटनगर र पोखरा तथा कर्णाली र लुम्बिनी भिड्ने

२६ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने दुवै खेलमा चार टोली प्रतिस्पर्धा गर्दैछन्।

आज दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन्।

पाँच खेल खेलेको विराटनगरले दुई जित र तीन हारसहित ४ अंक जोड्दै तालिकाको छैटौं स्थानमा छ। पोखराले भने पाँच खेलमध्ये एकमा मात्र जित निकाल्दै दुई अंकसहित पुछारमा रहेको छ।

यस्तै, आजै दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा कर्णाली याक्स र लुम्बिनी लाइन्स भिड्नेछन्।

पाँच खेलबाट दुई जित र तीन हार बेहोरेको कर्णाली सातौं स्थानमा छ। लुम्बिनी भने पाँच खेलमा तीन जित, एक हार र वर्षाका कारण एक खेल रद्द भएपछि अंक बाँड्दै तालिकाको तेस्रो स्थानमा रहेको छ।