|  

बालेनको भारत भ्रमणमा पञ्चेश्वर र दोधारा-चाँदनी सुख्खा बन्दरगाह मुख्य एजेन्डा बन्ने

२६ कात्तिक, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणमा नेपाल–भारतबीच लामो समयदेखि चर्चामा रहेका दुई महत्वपूर्ण पूर्वाधार आयोजना छलफलको विषय बन्ने भएका छन् ।

भारतको उत्तराखण्डका मन्त्री सतपाल महाराजले भ्रमणका क्रममा पञ्चेश्वर बहुउद्देश्यीय आयोजना र कञ्चनपुरको दोधारा–चाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाहबारे छलफल हुने बताएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा पञ्चेश्वर आयोजना प्राथमिकतामा पर्न सक्ने देखिएको छ । नेपाल र भारतको साझा जलस्रोत उपयोगसँग जोडिएको यो आयोजना लामो समयदेखि लागत निर्धारण, पानीको बाँडफाँट तथा आयोजनाबाट प्राप्त हुने लाभ वितरणसम्बन्धी विवादका कारण अघि बढ्न सकेको छैन । यसअघि दुवै देशले आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लाई अन्तिम रूप दिने प्रक्रिया तीव्र बनाउने सहमति गरेका थिए । पञ्चेश्वर आयोजना कार्यान्वयनमा आए शारदा (महाकाली) नदी क्षेत्रमा विद्युत् उत्पादन, सिँचाइ सुविधा विस्तार र बाढी नियन्त्रणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

उत्तराखण्डका मन्त्री सतपाल महाराजले भ्रमणका क्रममा नेपाल–भारत सीमा क्षेत्रमा देखिएका समस्या तथा तराई क्षेत्रमा पर्यटन प्रवद्र्धनका सम्भावनाबारे पनि छलफल हुने बताएका छन् । उनका अनुसार प्रधानमन्त्री शाहको भारत भ्रमण सम्भवतः नोभेम्बर २२ मा हुनेछ । भ्रमणका क्रममा पञ्चेश्वर बाँध परियोजना, सीमा समस्याहरू र दोधारा–चाँदनीमा प्रस्तावित ड्राई पोर्टका विषयमा छलफल गरिनेछ । लामो समयदेखि कार्यान्वयनको प्रतीक्षामा रहेका आयोजना र सीमा व्यवस्थापनका विषय प्रधानमन्त्रीको भारत भ्रमणमा उठ्ने भएपछि भ्रमणलाई दुई देशबीचको पूर्वाधार तथा आर्थिक सहकार्यका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ ।