|  

भीमफेदी दुर्घटनाको छानबिन गर्न सातदिने समिति गठन

२६ कात्तिक, काठमाडौं । भीमफेदीमा भएको भीषण ईभी दुर्घटनाको कारण पत्ता लगाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले सातदिने अध्ययन समिति गठन गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित समितिमा प्रहरी, कानुन मन्त्रालय र पूर्वाधार विकास कार्यालयका प्रतिनिधि सदस्य रहेका छन् । समितिलाई दुर्घटनाको कारण, सडकको अवस्था र सम्भावित जोखिम अध्ययन गरी सात दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बताए । गत बिहीबार भीमफेदी गाउँपालिका–६ चिसापानी गढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा भएको ईभी दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए ।

प्रतिवेदनका आधारमा आगामी दिनमा यस्ता दुर्घटना न्यूनीकरणका उपाय कार्यान्वयन गरिने प्रशासनले जनाएको छ ।