|  

भीमफेदी दुर्घटनाका पीडितलाई सहयोग गर्ने सरकारको प्रतिबद्धता, छानबिन गर्न समिति गठन

२७ कात्तिक, काठमाडौं । मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनाप्रति सरकारले दुःख व्यक्त गर्दै पीडित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार घाइतेको उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित अस्पताललाई निर्देशन दिइएको छ। घाइतेमध्ये तीन जना उपचारपछि डिस्चार्ज भएका छन् भने बाँकी तीन जनाको चितवन र ललितपुरका अस्पतालमा उपचार भइरहेको छ। सरकारले मृतकका परिवारलाई कानुनअनुसार क्षतिपूर्ति र बिमा रकम उपलब्ध गराउने प्रक्रिया पनि अघि बढाएको जनाएको छ।

दुर्घटनाको कारण पत्ता लगाउन मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन समयसीमा दिइएको छ।