|  

पश्चिमी वायुको आंशिक प्रभावःआज यी पाँच प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

२८ कात्तिक, काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा सामान्यतया बादल लाग्नेछ । त्यस्तै, बाँकी हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ ।

मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बादल लाग्नेछ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।

आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक / दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै, आज राति हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहनेछ । तराईका साथै उपत्यका र खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ।