|  

पश्चिमी वायुको प्रभावः ६ प्रदेशका हिमाली तथा पहाडी भू-भागमा वर्षारहिमपातको सम्भावना

२९ कात्तिक, काठमाडौं ।  नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज देशका विभिन्न स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो हिमाली भू-भाग तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा साधारणतया बादल लाग्नेछ।

कर्णाली र सुदूरपश्चिमका केही स्थान तथा गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ।

कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा पनि हल्का वर्षा र हिमपातको सम्भावना छ।

विभागका अनुसार राति हिमाली क्षेत्रमा बादल लाग्नेछ भने पहाडी क्षेत्रमा आंशिक बदली हुनेछ। तराई, उपत्यका तथा खोँचहरूमा बिहानपख हुस्सु र कुहिरो लाग्न सक्नेछ।