|  

एआईबाट बनेका सामग्रीलाई सीधै बौद्धिक चोरी भन्न नहुने माग गर्दै सर्वोच्चमा रिट

३० कात्तिक,काठमाडौं । एआईको प्रयोगबाट तयार पारिएका शैक्षिक सामग्रीलाई स्वतः बौद्धिक चोरी (प्लेजरिज्म) मान्ने अभ्यासविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेको छ ।

कानुन संकायका ६ विद्यार्थीले दायर गरेको रिटमा एआई प्रयोग र वास्तविक बौद्धिक चोरीबीच स्पष्ट कानुनी भिन्नता छुट्याउन माग गरिएको छ । एआई सामग्री पहिचान गर्ने सफ्टवेयरको नतिजालाई मात्रै आधार बनाएर विद्यार्थीका शोधपत्र तथा अनुसन्धानमाथि प्रश्न उठाउने र दण्डित गर्ने अभ्यास गलत हुन सक्ने उनीहरूको जिकिर छ । यस्ता सफ्टवेयरको नतिजा शतप्रतिशत विश्वसनीय नहुने र त्यसलाई चुनौती दिने अवसरसमेत नपाइने रिटमा उल्लेख छ । नेपालमा एआई प्लेजरिज्मसम्बन्धी स्पष्ट कानुनी व्यवस्था नभएकाले यसको प्रयोग, विश्वसनीयता, विद्यार्थीको गोपनीयता र कारबाहीको मापदण्ड निर्धारण गर्नुपर्ने माग निवेदकहरूको छ ।

शुक्रबार पेस गरिएको रिटमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा मन्त्रालयलगायत निकायलाई विपक्षी बनाइएको छ । रिट दर्ताका लागि अध्ययन भइरहेको छ ।