|  

१० करोडको अस्पताल भवन तयार, उपचारका लागि अझै सडक र जनशक्तिकै अभाव

३० कात्तिक, काठमाडाैं । मुगुम कार्मारोङ गाउँपालिकामा १० करोड रुपैयाँभन्दा बढी खर्च गरेर प्राथमिक अस्पतालको भवन निर्माण सम्पन्न भएको छ । तर, भवन उद्घाटन भइसक्दा पनि सडक, उपकरण र दक्ष जनशक्तिको अभावले अस्पताल पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन ।

गाउँपालिका–६ स्थित रिउस बगरमा निर्माण गरिएको अस्पताल भवन शनिबार कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले उद्घाटन गरेका हुन् । ‘एक स्थानीय तह, एक अस्पताल’ कार्यक्रमअन्तर्गत १० करोड २४ लाख रुपैयाँभन्दा बढी खर्च गरेर निर्माण गरिएको भवनमा तीन ब्लक, ४० कोठा र १९ शौचालय छन् । हाल एक चिकित्सकसहित आठ स्वास्थ्यकर्मी कार्यरत रहे पनि स्थायी दरबन्दी स्वीकृत भएको छैन । सडक पहुँच कमजोर हुँदा खरिद गरिएका उपकरणसमेत गमगढीमै थन्किएका छन् । गाउँपालिकाका कतिपय बस्तीबाट अस्पताल पुग्न एकदेखि दुई दिनसम्म पैदल हिँड्नुपर्ने बाध्यता छ ।

स्थानीयले भवन निर्माणलाई सकारात्मक माने पनि आवश्यक चिकित्सक, औषधि, उपकरण र यातायात सुविधा नहुँदासम्म प्रभावकारी उपचार सेवा पाउनेमा आशंका व्यक्त गरेका छन् । प्रदेश सरकारले अस्पताललाई १० शय्याको क्षमताअनुसार सञ्चालन गर्न आवश्यक जनशक्ति र उपकरण व्यवस्थापनमा पहल गर्ने प्रतिबद्धता जनाएको छ ।