|  

युरोप जाने नेपाली २२ गुणा बढे, व्यक्तिगत एजेन्टबाट ठगीको जोखिम

०१ मंसिर, काठमाडाैं । युरोप जाने नेपाली श्रमिकको संख्या बढेसँगै व्यक्तिगत एजेन्ट र बिचौलियामार्फत हुने ठगी तथा अनियमित आप्रवासनको जोखिम पनि बढेको छ।

युरोपस्थित नेपाली कूटनीतिक नियोगहरूले रोजगारदाताबाट प्राप्त मागपत्र प्रमाणीकरण गर्ने प्रक्रिया रोकेपछि श्रमिक व्यक्तिगत माध्यमबाट विदेश जाने क्रम तीव्र बनेको हो। सेन्टर फर द स्टडी अफ लेबर एन्ड मोबिलिटी (सेसलाम) को अध्ययनअनुसार आर्थिक वर्ष २०२०/२१ देखि २०२५/२६ सम्म व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर जाने नेपालीको संख्या २२ गुणाले बढेको छ। सन् २०२३ मा नेपाली नियोगहरूले रोजगारदाताको मागपत्र प्रमाणीकरण रोक्ने निर्णय गरेपछि औपचारिक भर्ती प्रक्रिया कठिन बनेको अध्ययनले औंल्याएको छ। यसको फाइदा उठाउँदै व्यक्तिगत एजेन्ट, बिचौलिया, शैक्षिक परामर्शदाता र ट्राभल एजेन्सीले आकर्षक रोजगारीको प्रलोभन देखाएर लाखौँ रुपैयाँ असुल्ने गरेको पाइएको छ। नक्कली भिसा, श्रम स्वीकृति र अन्य कागजात बनाएर ठगी गर्ने गतिविधि मानव तस्करीसँग समेत जोडिन थालेको अध्ययनको निष्कर्ष छ।

वैदेशिक रोजगार विभागका अनुसार व्यक्तिगत माध्यमबाट युरोप पठाउने एजेन्टविरुद्ध उजुरी बढिरहेका छन्। सन् १९९० देखि २०२४ सम्म ८३ हजारभन्दा बढी नेपाली श्रमिक युरोप पुगेका छन्। कुल श्रम स्वीकृतिमा युरोपको हिस्सा आर्थिक वर्ष २०२०/२१ मा ३ प्रतिशत रहेकामा २०२४/२५ मा बढेर करिब ८ प्रतिशत पुगेको छ।