०१ मंसिर, काठमाडाैं । ट्राफिक प्रहरीले ट्राफिक नियम विपरित स्वरूप परिवर्तन (मोडिफाई) गरेर चलाइएका ४०१ दुईपाङ्ग्रे सवारीलाई कारबाही गरेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ध्वनि प्रदुषण नियन्त्रण गर्न मोडिफाई गरेर चलाएका दुईपाङ्ग्रे सवारी साधनलाई नियन्त्रणमा लिएर कारबाही गरेको हो । ट्राफिक प्रहरीले ३४७ वटा बुलेट, १७ वटा क्रसफायर, ११ वटा एनएस, ४ वटा स्कुटर, २/२ वटा डुकाटी र एमटी, १/१ वटा डोमिनार र केटिएम डुक र ८ वटा अन्य सवारीसाधन नियन्त्रणमा लिएको जनाएको छ । एक साताको अवधिमा उक्त संख्यामा मोटरसाईकल, स्कुटर लयायतका दुईपाङ्ग्रे सवारी साधान नियन्त्रणमा लिएर आवश्यक कारबाही अगाडी बढाएको कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।
सडकमा ध्वनि प्रदूषण बढाउने तथा अन्य सवारी चालक र सर्वसाधारणलाई असर पु¥याउने गरी मोटरसाइकल मोडिफाई गर्ने प्रवृत्ति नियन्त्रण गर्न अभियान नै सञ्चालन गरिएको उनले बताए । उनकाअनुसार निजी सवारीसाधन भन्दै आफूखुशी स्वरूप परिवर्तन गरी सडकमा चलाउने प्रवृत्ति बढ्दै गएको छ । यस्तो गतिविधिले चालक स्वयंलाई जोखिममा पार्ने र सर्वसाधारणको स्वास्थ्य र सुरक्षामा समेत असर पार्ने उनको भनाई छ । उनकाअनुसार ट्राफिक प्रहरीले मोडिफाई गरिएका मोटरसाइकललाई नियन्त्रणमा लिएर यातायात व्यवस्था कार्यालयमा पठाउने गरेको छ ।
विभागले कानूनी प्रक्रिया पूरा भएपछि मोटरसाइकललाई शोरुमबाट निस्कँदाको मूल स्वरूपमा फर्काएर मात्र सम्बन्धित धनीलाई जिम्मा लगाउने उनले जानकारी दिए । मोडिफाई गरिएका पार्टपुर्जासमेत परिवर्तन गरी मोटरसाइकललाई पुरानै अवस्थामा ल्याएपछि मात्र हस्तान्तरण गर्ने गरिएको उनको भनाई छ । पटक-पटक नियम उल्लङ्घन गर्ने केही मोटरसाइकललाई भने प्रहरीले नियन्त्रणमै राखेको उनले जानकारी दिए । काफ्लेका अनुसार पाँचदेखि १० वटासम्म मोटरसाइकल पटक–पटक कारबाहीमा परेपछि नियन्त्रणमा राखिएको छ । उनले भने,‘१ हप्ताको दौरानमा ४०१ वटा मोटर साईकलहरु समातेर आवश्यक कानुनी कारबाही गर्दैछौं । हाम्रो एउटै मात्र उद्देश्य के हो भने सडकमा कुनै पनि नागरिकलाई साउन्ड पोलुसनको कारणले अरु दुर्घटना अथवा उनलाई हेल्थको ह्याजार्ड नहोस् भन्ने नै हो । साथै सडकमा मनलाग्दी तरिकाले आफूले चाहे अनुसारले सवारी साधन चलाउने र जसको कारणले अरुलाई असर गर्ने काम गर्नु हुँदैन । पछिल्लो समयमा जे गर्दा पनि हुन्छ, सडकमा हिँड्ने सवारी साधन मेरो सम्पत्ति भएको हुनाले जसरी मोडिफाई गर्न पनि पाउँछ भन्ने खालको ट्रेन्ड जस्तै बसेको छ । यसले कसैलाई पनि फाइदा गर्दैन । यो स्वयं चालकलाई पनि एकदमै रिस्की हुन्छ । यो गैरकानूनी क्रियाकलाप हो र हामी यसलाई नियन्त्रण गर्ने प्रयासमा छौं । यो जति पनि मोडिफाई गरेका सवारी साधनहरु छन्, त्यो मोडिफाई गरेका सवारी साधनहरुको जरिवाना चाहिँ यातायात व्यवस्था कार्यालयले गर्छ । हामीले गर्दैनौं, हामीले चिट काटेर पठाउँछौं । उहाँहरुले चिट काटेर आइसकेपछि शोरुमबाट निस्किँदाखेरि जुन अवस्थामा मोटर साईकल थियो, त्यही अवस्थामा बनाएर हामी उहाँहरुलाई ह्यान्ड ओभर गर्छौं । चेन्ज गरेका पाट्र्सहरु सबै चेन्ज गर्न लगाउँछौं । अहिले जति पनि दुर्घटना हेर्नुहुन्छ भने हाम्रो ६० देखि ७० प्रतिशत दुर्घटना २ पाङ्ग्रे सवारी साधनमै छ । यो आर्थिक वर्षमा पनि अधिकांश ठाउँमा २ पाङ्ग्रेबाट नै दुर्घटनाको कारणले मान्छेहरुले मृत्युवरण गर्नु परेको र घाइते हुनुपरेको अवस्था छ । त्यसैले २ पाङ्ग्रे सवारी साधन आफैँमा संयमित भएर चलाउनु पर्ने सवारी साधन हो । त्यसमा पनि मोडिफाई गरेपछि त यसले जे रुपमा काम गर्नुपर्ने हो, त्यो काम नगर्ने हुनाले अरु थप दुर्घटना भएको देखिन्छ ।’
प्रमुख काफ्लेले मोडिफाई गरिएका दुईपाङ्ग्रे सवारीसाधनले निर्धारित कार्यक्षमतामा असर पार्नसक्ने र दुर्घटनाको जोखिम थप बढाउन सक्ने बताए । उनकाअनुसार दुईपाङ्ग्रे सवारीसाधन दुर्घटनामा बढी संलग्न हुने गरेको छ । काठमाडौं उपत्यकामा हुने कुल सवारी दुर्घटनामध्ये ६० देखि ७० प्रतिशत दुर्घटना दुईपाङ्ग्रे सवारीसाधनसँग सम्बन्धित रहेको उनले जानकारी दिए । चालु आर्थिक वर्षमा पनि दुईपाङ्ग्रे सवारीसाधन दुर्घटनाका कारण मृत्यु तथा घाइते हुनेको संख्या उल्लेख्य रहेको उनको भनाई छ । सडक सबैको साझा प्रयोगस्थल भएकाले प्रत्येक चालकले आफ्नो व्यवहारले अरूलाई असर पारेको छ कि छैन भन्ने विषयमा सचेत हुनुपर्नेमा उनले जोड दिए । ट्राफिक नियमको पालना र नागरिकको जिम्मेवार व्यवहारबाट मात्रै सडक दुर्घटना न्युनिकरण सम्भव हुने उनले बताए ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar