|  

ग्रासरुट अभियान चलायौँ तर जनतासँग संवाद गरेनौँः एमाले महासचिव पोखरेल

०२ मंसिर, काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीले जनताकोबीचमा जानेगरि विभिन्न अभियान संचालन गरेपनि जनतासँग प्रभावकारी संवाद गर्न नसकेको बताएका छन् । 

पार्टीको राष्ट्रिय भेलामा पार्टीको शुद्धीकरण र सुदृढीकरणका विषयमा कार्यपत्र प्रश्तुत गर्दै उनले जनतासँग सम्बन्ध विस्तार गर्न असफल भएको बताएका हुन् । उनले वडा केन्द्रित अभियान, जरा केन्द्रित अभियान र ग्रासरुट अभियान सञ्चालन भएपनि ती अभियानमा जनतासँग संवाद गर्ने काम पर्याप्त हुन नसकेको बताए । हाल पार्टीका अभियानहरू औपचारिकता र देखावटी गतिविधिमा सीमित हुन थालेको उनको भनाई छ । त्यसलाई नसुधारे आगामी निर्वाचनमा पनि अपेक्षित परिणाम हासिल गर्न नसकिने उनले बताए ।

जनतासँगको संवाद टुटेकै कारण पार्टीले जनताको बदलिँदो मनोविज्ञान बुझ्न नसकेको र निर्वाचनमा अपेक्षाअनुसार परिणाम हासिल गर्न नसकेको उनले बताए । जनतासँग संवाद गर्ने काम गर्न नसकेसम्म जनाधार फिर्ता गर्न नसकिने उनको भनाई छ । पार्टी बलियो बनाउन जनताबीचमा जानुपर्ने उनले बताए । पोखरेलले विगतको निर्वाचनअघि पार्टीका नेताहरूले गरेको परिणामसम्बन्धी आँकलन र वास्तविक नतिजाबीच ठूलो अन्तर देखिएको समेत उल्लेख गरे । महासचिव पोखरेलले आगामी निर्वाचनको तयारीका लागि स्थानीय राजनीतिक शक्ति सन्तुलनको वैज्ञानिक विश्लेषण गर्नुपर्नेमा जोड दिए । विगतका स्थानीय, प्रदेश र संघीय निर्वाचनका परिणाम विश्लेषण गरी पार्टीका बलिया, मध्यम र कमजोर क्षेत्र पहिचान गर्नुपर्ने उनको भनाई छ ।

साथै विपक्षी दलको संगठनात्मक अवस्था, जनप्रभाव, स्थानीय मुद्दा, जनसन्तुष्टि र सम्भावित चुनावी प्रभावको मूल्याङ्कन गर्नुपर्नेमा जोड दिए । उनले भने,विगतमा हामीले वडा केन्द्रित अभियान, जरा केन्द्रित अभियान, ग्रासरुट अभियान चलायौं। तर जनतासँग संवाद गर्ने काम तीनवटै अभियानमा कमै भयो । अबसम्म हामी जनतासँग संवाद गर्ने काम गर्न सक्दैनौं, जनाधार फिर्ता गर्न सकिदैन । अहिले पनि हामी मिसन पार्टी जागरण चलाइरहेका छौं । सबै कमरेडहरूलाई म यो भन्न चाहन्छु । वास्तवमा हामीले के पार्टी जागरण अभियानको निर्देशिका अध्ययन गरिकन त्यसका आधारमा काममा जुटेका छौं ? पार्टीलाई बलियो बनाउने हो भने जनतासँग संवाद गर्न जरुरी छ । जनतामा नजाने हामी बलियो छौं, बलियो हुन्छौं भन्ने कुरा मात्रै गरेर पार्टी बलियो हुन सक्दैन । पार्टीलाई बलियो बनाउने हो भने जनतामा जानै पर्दछ, जनतासँग संवाद गर्नै पर्दछ । जनताका समस्या पहिचान गर्नै पर्दछ, समाधानको नेतृत्व गर्नै पर्दछ । यो काम हामीले तीनवटा अभियानमा गर्न सक्या छैनौँ । अब पनि गर्न सकेनौँ भने परिणाम हामीले सोचेजस्तो हुँदैन । हामीले जनताको बदलिएको मनोविज्ञान पनि बुझ्न सकेनौं। जनता एक एक ढंगले सोची राखेको, हामी जनतालाई अर्कै ढंगले बुझ्ने काम ग¥यौँ । किन त्यस्तो भयो भनेर भन्दाखेरि हाम्रो जनतासँगको संवाद टुटिसक्या रहेछ । हाम्रा अभियानहरू, हाम्रा गतिविधिहरू फगत औपचारिकतामा देखावा रूपमा हुन थालेका रहेछन् । त्यसलाई नबदल्ने हो भने फेरी पनि हामीले सोचेजस्तो परिणाम ल्याउन सक्दैनौं ।’

उम्मेदवार आफैँ छनोट गर्नुस्, चुनाव पनि जिताएर देखाउनुस्

महासचिव पोखरेलले उम्मेदवार छनोटका विषयमा नेतृत्वलाई मात्रै दोष दिने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए । उनले अब उम्मेदवार छनोट आफैँ गर्न र आफूले छनौट गरेका उम्मेदवारलाई जिताउने जिम्मेवारी पनि लिन आग्रह गरे । उनले उम्मेदवार छनोट गर्दा व्यक्तिगत अनुमानभन्दा जनमत सर्वेक्षण र व्यापक सुझाव संकलनमा आधारित वैज्ञानिक प्रणाली विकास गर्नुपर्ने बताए । उनले भने,‘उम्मेदवारका सन्दर्भमा एउटाले टिकट पाउने, आकांक्षीहरू असन्तुष्ट रहने, यो आम प्रवृत्ति बनिसक्यो । त्यसपछि दोष नेतृत्वलाई लगाउने । म कमरेडका बीचमा अनुरोध गर्न चाहन्छु, उम्मेदवारहरू पनि तपाईँहरू आफैं छान्नुस्, जिताएर देखाउनुस् । यसपटकको निर्वाचनका सन्दर्भमा यो संकल्प गरौं । कार्यकर्ताले उम्मेदवार छान्ने, कार्यकर्ताले जिताएर देखाउने । पार्टी निर्माणका सन्दर्भको एउटा महत्त्वपूर्ण आधार हुन सक्दछ । यो कहिले कसैलाई दोष लगाउने, कहिले कसैलाई दोष लगाउने, पार्टी दिनप्रतिदिन कमजोर हुँदै जाने अवस्थाबाट अब हामी मुक्त हुनुपर्दछ । हामी आफैंले जिम्मेवारीको भारी बोक्नका लागि तयार हुनुपर्दछ । त्यसका लागि मनोगत रूपमा होइन, सर्वेक्षणका माध्यमबाट, बृहत्तर सुझावका माध्यमबाट आँकलन गर्ने खालको वैज्ञानिक प्रणाली कमरेडहरुले आफ्नो तहमा विकास गर्नुपर्दछ ।’ उनले निर्वाचनमा कार्यकर्तालाई परिचालन गर्न केन्द्रदेखि पालिकासम्मका कमिटी सक्रिय बनाउनुपर्ने बताए । विशेषगरी पालिका तहमा पार्टी संगठन र सदस्य परिचालनका लागि छुट्टै उपसमितिहरु बनाउनुपर्ने उनको प्रश्ताव छ ।

साथै उनले पार्टीका सबै कमिटी र सदस्य परिचालित भए-नभएको अनुगमन गर्न छुट्टै संयन्त्र गठन गर्न आवश्यक रहेको बताए । निर्वाचनमा प्रचार अभियानलाई परम्परागत र डिजिटल गरी दुई भागमा विभाजन गर्दै डिजिटल प्रचारलाई विशेष प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए ।–न्युज एजेन्सी नेपाल