|  

१०औं राष्ट्रिय खेलकुदमा १ हजार ३३७ पदकका लागि भिडन्त

०३ मंसिर, काठमाडाैं । १० औं राष्ट्रिय खेलकुदमा १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने भएको छ।

कर्णाली प्रदेशमा मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सात प्रदेशसहित ११ टोलीका खेलाडीले ३२ खेलका ३८४ इभेन्ट्समा प्रतिस्पर्धा गर्नेछन्। राष्ट्रिय खेलकुद परिषद्का अनुसार प्रतियोगितामा ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कांस्य पदकका लागि भिडन्त हुनेछ। प्रतियोगिताका केही खेल भने मंसिर ८ गतेदेखि नै सुरु हुनेछन्। खेलहरू सुर्खेतसहित सात जिल्लामा सञ्चालन गरिनेछ।प्रतियोगितामा प्रत्येक टोलीबाट ६६० खेलाडीसहित प्रशिक्षक र व्यवस्थापक गरी ठूलो संख्यामा सहभागी रहनेछन्। खेल सञ्चालनका लागि १ हजार ३० निर्णायक खटाइनेछन्, जसमध्ये २५८ अन्तर्राष्ट्रिय र ७७२ राष्ट्रिय स्तरका हुनेछन्।

यसपटक पदक विजेतालाई नगद पुरस्कारसमेत प्रदान गरिनेछ। व्यक्तिगत स्पर्धामा स्वर्ण, रजत र कांस्य जित्नेलाई क्रमशः २० हजार, १५ हजार र ८ हजार रुपैयाँ दिइनेछ। टिम स्पर्धातर्फ स्वर्ण विजेताले १५ हजार, रजतले १० हजार र कांस्यले ८ हजार रुपैयाँ पाउनेछन्। रजत र कांस्य विजेतालाई समेत नगद पुरस्कार दिने व्यवस्था पहिलोपटक गरिएको राखेपले जनाएको छ। प्रतियोगिताको उद्घाटन तथा समापन समारोह सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा हुनेछ। पटकपटक मिति सर्दै आएको प्रतियोगिता यसअघि राखेपको १२५औं बोर्ड बैठकले २०८३ साउन २८ गते नयाँ मिति तय गरेको थियो।