|  

प्रधानमन्त्रीको भारत भ्रमणमा पञ्चेश्वर अघि बढाउन प्रचण्डको सुझाव

०३ मंसिर, काठमाडाैं । रुस भ्रमण सकेर स्वदेश फर्किएका नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणमा पञ्चेश्वर परियोजनालाई प्राथमिकताका साथ उठाउन सुझाव दिएका छन्।

बिहीबार त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले आफू प्रधानमन्त्री हुँदा अघि बढाइएका पञ्चेश्वर परियोजना, विद्युत् व्यापारसम्बन्धी त्रिदेशीय सम्झौता तथा कृषि विकासका सहमति कार्यान्वयनमा लैजानुपर्ने बताए। प्रधानमन्त्रीको कार्यशैली र भारत भ्रमणबारे आफू स्पष्ट नभए पनि सरकारले राम्रो काम गरे समर्थन र गलत गरे आलोचना गर्ने आफ्नो नीति रहेको उनले स्पष्ट पारे। रुसमा आयोजित सम्मेलनमा युद्ध, अन्तर्राष्ट्रिय तनाव, ब्रिक्स, बहुध्रुवीय विश्व व्यवस्था, प्यालेस्टाइन र युक्रेनलगायतका विषयमा नेपालको धारणा राखिएको पनि उनले जानकारी दिए।