|  

ट्रम्प, पुटिन र सीबीच डेढ घण्टा लामो त्रिपक्षीय वार्ता, आणविक निःशस्त्रीकरणदेखि युक्रेन युद्धसम्म छलफल

०३ मंसिर, काठमाडाैं । अमेरिका, रुस र चीनका राष्ट्रपतिबीच विश्वका प्रमुख चुनौती र शक्ति राष्ट्रहरूको सम्बन्धबारे त्रिपक्षीय वार्ता भएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच झण्डै डेढ घण्टा चलेको बैठकमा आणविक निःशस्त्रीकरण, रुस–युक्रेन युद्ध र अन्तर्राष्ट्रिय शान्तिका विषयमा छलफल भएको हो। चिनियाँ राष्ट्रपति सीले ठूला शक्ति राष्ट्रबीच पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व, आपसी हितमा सहकार्य र निरन्तर संवाद हुनुपर्नेमा जोड दिए। संवादको अभावले अविश्वास बढाउने र सामान्य विवादसमेत ठूलो द्वन्द्वमा परिणत हुन सक्ने भन्दै उनले तीन देशबीच नियमित उच्चस्तरीय भेटघाट तथा संकटका बेला सञ्चार गर्ने संयन्त्र बनाउन प्रस्ताव गरे।

ट्रम्पले भने पुटिन र सीसँगको संयुक्त बैठकलाई विदेश नीतिमा नयाँ दृष्टिकोणका रूपमा व्याख्या गरे। विरोधी मानिएका शक्तिहरूसँग प्रत्यक्ष संवाद गर्दा सकारात्मक परिणाम आउन सक्ने उनको विश्वास थियो। उनले विश्वका तीन ठूला शक्तिले आफ्ना नागरिकसँगै समग्र विश्वलाई असर गर्ने विषयमा जिम्मेवार र फलदायी संवाद गर्नुपर्ने बताए। साथै, अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले आफ्नो क्षेत्राधिकार नाघेको आरोप लगाउँदै राष्ट्रिय सार्वभौमसत्ता जोगाउनुपर्ने धारणा राखे। रुसी राष्ट्रपति पुटिनले पनि विश्व शान्ति र सुरक्षा कायम राख्न अमेरिका, चीन र रुसको साझा जिम्मेवारी रहेको बताए। युक्रेन युद्धलगायत क्षेत्रीय द्वन्द्व समाधानमा तीनै देशको साझा स्वार्थ रहेको उल्लेख गर्दै उनले समानता, पारस्परिक सम्मान र हितका आधारमा सहकार्य गर्नुपर्नेमा जोड दिए।

यसैबीच, बैठकका क्रममा ब्लूमबर्गकी एक अमेरिकी पत्रकारलाई सहभागी हुनबाट रोकिएको विषय पनि चर्चामा आएको छ। उनले ट्रम्पलाई लक्षित गर्दै एनभिडियाका पूर्वसीईओ जेन्सन हुआङ अमेरिकाप्रति निष्ठावान् नरहेको हो भन्ने प्रश्न गरेकी थिइन्। पत्रकारलाई सहभागी गराउन ह्वाइट हाउसले आग्रह गरे पनि चिनियाँ अधिकारीहरूले आफ्नो निर्णय परिवर्तन गरेनन्। पत्रकारले चिच्याएर प्रश्न सोध्नु अशोभनीय व्यवहार भएको चिनियाँ पक्षको तर्क थियो।