|  

बेल्चा चलाउने श्रमिकले दैनिक १७०० रुपैयाँ ज्याला पाउने मन्त्रीको घोषणा

४ मंसिर, काठमाडौं । भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले वर्तमान सरकारले मधेस प्रदेशलाई विशेष प्राथमिकतामा राखेर विकास निर्माणका कार्यक्रम अघि बढाएको बताएका छन् ।

बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)द्वारा जनकपुरधाममा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले सडक, खानेपानी, ढल निकास तथा ग्रामीण सडक पूर्वाधार निर्माणका लागि अन्य प्रदेशको तुलनामा मधेसमा बढी बजेट विनियोजन गरिएको बताए ।

‘यो सरकारले सबैभन्दा बढी न्याय बेल्चा चलाउने श्रमिकलाई गरेको छ । अब उप्रान्त मङ्सिर महिनादेखि बेल्चा चलाउने श्रमिकले दैनिक एक हजार ७०० रुपैयाँ कमाउने छन्,’ मन्त्री लम्सालले भने ।

हाल बेल्चा चलाउने श्रमिकले दैनिक ५०० रुपैयाँ मात्रै आम्दानी गरिरहेको उल्लेख गर्दै उनले सरकारले श्रमिकको पारिश्रमिक वृद्धि गरेकाले त्यसबाट मधेसका श्रमिक बढी लाभान्वित हुने दाबी गरे ।