|  

चीन भ्रमणमा रहेका रास्वपा सांसदहरूको अडियो लिक– कांग्रेस देउवाको हातमा जानुपर्छ

५ मंसिर, काठमाडौं ।चीन भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूबीच भएको विवादास्पद राजनीतिक संवाद सार्वजनिक भएको छ।

चीनको प्रविधि प्रदर्शनीमा रोबोट अवलोकन गरिरहेका बेला सांसदहरूबीच भएको कुराकानीको भिडियो सार्वजनिक भएको हो । संवादमा नेपाली कांग्रेसको आन्तरिक विवाद, शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक अवस्थाबारे छलफल गरिएको सुनिन्छ ।

कुराकानीका क्रममा उनीहरूले ‘कांग्रेस देउवाको हातमा जानुपर्छ’ भन्दै शेरबहादुर देउवाले पार्टीको आधिकारिकता पाए आफूहरूलाई फाइदा हुने बताएका छन् । यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता महेश बस्नेतलगायतको राजनीतिक अवस्थाबारे पनि उनीहरूले कुराकानी गरेका छन् ।

कुराकानीमा उनीहरुले भनेका छन्, ‘अदालतले पनि फैसला गरेर शेरबहादुर देउवाकोमा मान्यता जानुपर्छ स्थानीय चुनावसम्म । र ओलीलाई पनि रोक्नुहुन्न ।किनभने डबल चर्को भएर निस्कनुपर्छ ओली र महेश बस्नेत ।’

आफूहरूले पनि काम गरेर देखाउन नसके भविष्यमा त्यस्तै राजनीतिक परिस्थितिमा पुग्न सक्ने आशयको अभिव्यक्तिसमेत भिडियोमा सुनिन्छ । उक्त संवाद सार्वजनिक भएपछि रास्वपा सांसद श्रीराम न्यौपानेले फेसबुकमार्फत स्पष्टीकरण दिएका छन्।

उनले सांसदहरूबीच भएको कुराकानी अनौपचारिक छलफल भएको उल्लेख गर्दै नागरिकको विश्वास कामबाट प्रमाणित गर्नुपर्ने निष्कर्ष रहेको दाबी गरेका छन्। चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा रास्वपाका २० सांसदसहितको टोली अहिले चीन भ्रमणमा रहेको छ।