|  

गर्भवतीको मृत्युपछि बरहथवा नगर अस्पतालमा आगजनी र तोडफोड

७ मंसिर, काठमाडौं । उपचारका क्रममा नौ महिनाकी गर्भवती महिलाको मृत्यु भएपछि सर्लाहीको बरहथवा नगर अस्पतालमा आफन्तले आगजनी र तोडफोड गरेका छन् ।

बरहथवा नगरपालिका–५, हात्तीढुंगा पानिटंकी टोलकी २१ वर्षीया सीमा रामदेवीको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले अस्पतालको इमर्जेन्सी कक्षमा आगजनी गर्नुका साथै तोडफोड गरेका हुन् ।तीन दिनदेखि बिरामी रहेकी रामदेवी बरहथवा नगर अस्पतालमा उपचाररत थिइन् ।

शनिबार साँझ करिब ६ बजे उपचारका क्रममा उनी अचानक बेहोस भएकी थिइन् ।चिकित्सकको लापरबाहीका कारण बिरामीको अवस्था बिग्रिएको आरोप लगाउँदै आफन्तले अस्पतालमा तोडफोड र आगजनी गरेका थिए ।

त्यसपछि थप उपचारका लागि उनलाई चन्द्रनिगाहपुरस्थित अस्पताल लगिएको थियो । तर, चिकित्सकले राति १० बजेर ५३ मिनेटमा उनलाई मृत घोषणा गरेका थिए ।मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ ।

अस्पतालका अनुसार आगजनी र तोडफोडबाट करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सर्लाही पठाएको जनाएको छ ।