|  

एमालेसँग मिलेर स्थानीय र प्रदेश चुनाव लड्ने निर्णय भइसक्योः प्रचण्ड

७ मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग सहकार्य गरी आउँदो स्थानीय र प्रदेश निर्वाचनमा जाने नीतिगत निर्णय भइसकेको बताएका छन् ।

गोरखाको बाह्रकिलोमा सोमबार आयोजित कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले एमालेसहित अन्य कम्युनिस्ट पार्टीहरूसँग पनि सदन र सडकमा सहकार्य गरिने बताए।

‘नेकपा एमाले, नेकपा मशालहरूसँग हामीले सहकार्य गरेर जाने सहमति भइसकेको छ, सडक र सदनमा मिलेर जाने कुरा भएको छ र आउँदो स्थानीय र प्रदेश चुनावमा मिलेर नै लड्ने भन्ने नीतिगत निर्णय भएको छ, तपाईंहरूले थाहा पाइराख्नु भएकै होला,’ संयोजक प्रचण्डले भने, ‘हाम्रो कोसिस छ,सहकार्य मात्र होइन, पार्टी नै एउटै बनाएर कम्युनिस्ट आन्दोलन रक्षाका लागि, स्वाधिनता रक्षाका लागि र समाजवादको दिशामा अघि बढ्नका लागि कम्युनिस्टहरू एउटै केन्द्रमा आउनुपर्छ।’