|  

निर्माणजन्य खनिज उत्खनन र निर्यात प्रवर्द्धन कार्यक्रम तत्काल ल्याउनुपर्छः मन्त्री साह

०७ मंसिर, काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले निर्माणजन्य खनिज तथा सामग्रीको उत्खनन, उपयोग र निर्यात प्रवद्र्धनका लागि सरकारले तत्काल कार्यक्रम ल्याउनुपर्ने बताउनुभएको छ । 

प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले निर्माणजन्य खनिज तथा सामग्रीको उपयोगबारे छलफल धेरै हुने तर काम नहुने प्रवृत्तिको कारण आर्थिक अवसर गुमिरहेको बताउनु भयो । उहाँले जलविद्युतको सम्भावना समयमै उपयोग गर्न नसक्दा नेपालले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको उदाहरण दिँदै अब निर्माणजन्य सामग्रीको निर्यातमा पनि ढिलाइ गर्न नहुनेमा जोड दिनुभयो । उहाँले भारत र बंगलादेशमा निर्माण सामग्रीको माग बढिरहेको उल्लेख गर्दै नेपालमा नदीहरुमा थुप्रिएर बसेको निर्माणजन्य खनिजको सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कोशी नदीमा रहेको ठूलो परिमाणको बालुवा उत्खनन तथा उपयोग गर्न सकिने भन्दै आगामी १० वर्षभित्र त्यसको व्यवस्थापन गर्न नसके नदीको बढ्दो सतह देशकै लागि भार बन्न सक्ने चेतावनी समेत दिनुभयो । मन्त्री साहले राष्ट्रिय निर्माणजन्य खनिज तथा सामग्री उद्योग विकास एवं निर्यात प्रवद्र्धन कार्यक्रम तत्काल ल्याउन सरोकारवाला निकायलाई निर्देशन दिन समेत समिति सभापतिको ध्यानाकर्षण गराउनु भयो । उहाँले भन्नुभयो, ‘नेपालमा छलफल धेरै हुन्छ तर काम सम्पन्न हुँदैन । त्यही कारणले हामीले अपर्चुनिटी गुमाइराखेका छौँ । हामीसँग हाइड्रोपावरको अपर्चुनिटी जस्तो १५ वर्ष पहिले थियो । अहिले त्यस्तो छैन । एउटै हाइड्रोपावरको कारणले हामीले वर्षको ३ खर्ब रुपैयाँ गुमाइरहेको उदाहरण पनि हामीसँग छ । आजको दिनमा रेनी सिजनमा भारतले ८५ पैसामा बिजुली किन्छ । त्यहाँ त सोलार नै गिगावाटमा पुगेको छ । परडे प्रोडक्सन गिगावाटमा छ, हाम्रो उत्पादन क्षमाता १५, १६ सय मेगावाट छ । त्यो पनि त हामीले अवसर गुमाइरहेको अवस्था हो नि । त्यसकारण अहिले भारत र बंगलादेशलाई कन्सट्रक्सन मटेरियल चाहिएको छ । भुटानले त आफ्नो पहाड बेचेरै कन्सट्रक्सन मटेरियल बेचिराख्या छ । त्यही कारणले म समिति सभापतिज्यूलाई पनि एउटा निर्देशन दिनको लागि आग्रह गर्छु, राष्ट्रिय निर्माणजन्य खनिज तथा सामग्री उद्योग विकास एवं निर्यात प्रवद्र्धन कार्यक्रम तुरुन्तै ल्याउनुपर्छ । यो विधेयकमा छलफल हुँदै गर्दा यो कार्यक्रम पनि ल्याउनुपर्छ । जस्तै कोशी रिभरमै बिलियनौँ टन बालुवा थुप्रिया छ, त्यसलाई निकाल्न सक्छौँ । त्यो हामीले १० वर्षभित्रमा उपयोग गर्न सकेनौँ भने त्यो हाम्रै देशको लागि भार हुन्छ । जुन रिभरको बेड लेभलहरु बढिराख्या छ, त्यसलाई चाहिँ हामीले तुरुन्तै हामीले अगाडि बढाउनुपर्छ र हामी मन्त्रालयका साथीहरुलाई पनि त्यसमा चाहिँ काम गर्न आग्रह गर्छु ।’

खनिज तथा उद्योग क्षेत्रको विकासका लागि आफू क्रियाशीलताका साथ काम गरिरहेको बताउनु भयो । उहाँले खानी उत्खनन तथा खनिज पदार्थको सदुपयोगको विषयमा प्राविधिक तथा नीतिगत छलफल भइरहेको समेत बताउनु भयो । –न्युज एजेन्सी नेपाल