|  

ईपीजीबारे भारतीय विदेश सचिवः अब विगतमा फर्किँदैनौँ, भविष्यका लागि नेपालसँग नयाँ समझदारी भइसक्यो

८ मंसिर, काठमाडौं ।  भारतीय विदेश सचिव विक्रम मिस्रीले नेपाल–भारत सम्बन्धबारे प्रबुद्ध व्यक्ति समूह (ईपीजी)ले तयार पारेको प्रतिवेदन विगतको विषय भइसकेको टिप्पणी गरेका छन् ।

उनले भारत अब उक्त प्रतिवेदनतर्फ नफर्किने स्पष्ट पारेका छन् । नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको भेटवार्तापछि भारतीय सञ्चारकर्मीसँग कुरा गर्दै विदेश सचिव मिस्रीले यस्तो बताएका हुन् ।

‘ईपीजी विगतको कुरा हो । भारत विगततर्फ फर्किँदैन। भविष्यका लागि नयाँ समझदारी भइसक्यो । सीमाका विषयमा छलफलका लागि दुवैतर्फका विदेश सचिवहरूलाई स्पष्ट निर्देशन आइसकेको छ । भारत र नेपाल सरकारले रचनात्मक र विस्तृत संयुक्त दृष्टि दस्ताबेज अघि सारेको छ । अब हामी भविष्यका लागि काम गर्छौँ । विगततर्फ फर्किँदैनौँ,’उनले भने ।

नेपाल र भारतका प्रबुद्ध व्यक्तिहरू सम्मिलित संयुक्त संयन्त्रले सन् २०१८ (२०७५) मा आफ्नो प्रतिवेदन तयार गरेको थियो । उक्त प्रतिवेदनमा दुई देशबीचको सीमा विवाद तथा सन् १९५० को शान्ति तथा मैत्री सन्धि पुनरावलोकनलगायतका विषय समेटिएका थिए ।

तर, भारत सरकारले हालसम्म उक्त प्रतिवेदन औपचारिक रूपमा बुझेको छैन । यस विषयमा भारतीय सञ्चारकर्मीहरूले जिज्ञासा राख्दा विदेश सचिव मिस्रीले प्रतिवेदनको सान्दर्भिकता अब नरहेको आशय व्यक्त गर्दै भारत विगततर्फ नफर्किने बताएका हुन् ।