|  

अयोध्यादेखि जनकपुरधामसम्म चल्ने ‘सरयू–कमला एक्सप्रेस’को स्वागतको भव्य तयारी

८ मंसिर, काठमाडौं । भारतको अयोध्यादेखि नेपालको जनकपुरधामसम्म सञ्चालन हुने नयाँ रेल सेवा ‘सरयू–कमला एक्सप्रेस’को स्वागतका लागि जनकपुरधाममा भव्य तयारी गरिएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नयाँदिल्लीबाट संयुक्त रूपमा भर्चुअल माध्यममार्फत रेल सेवाको उद्घाटन गरेका थिए । उद्घाटनपछि सोमबार दिउँसो १२ः३० बजे अयोध्याधामबाट रेल जनकपुरधामका लागि प्रस्थान गरेको थियो ।

उक्त रेल मंगलबार बिहान १० बजे जनकपुरधाम आइपुग्ने निर्धारित समय रहेको छ । रेलको स्वागतका लागि जनकपुरधाममा विभिन्न सांस्कृतिक कार्यक्रम, परम्परागत झाँकी तथा स्वागत समारोह आयोजना गर्ने तयारी गरिएको छ । करिब ६०४ किलोमिटर दूरी पार गर्ने यो रेलले भारतका उत्तर प्रदेश र बिहार हुँदै नेपालको जनकपुरधामलाई जोड्नेछ ।

यात्राका क्रममा रेल मन्कापुर, बस्ती, गोरखपुर, नरकटियागञ्ज, रक्सौल, सीतामढी, शिशो, मधुबनी र जयनगरलगायतका स्टेसनमा रोकिनेछ ।

१७ वटा डिब्बा रहेको रेलमा स्लीपर, एसी थ्री टियर, एसी थ्री टियर इकोनोमी र एसी टु टियरका सुविधा उपलब्ध छन् । यो रेल सेवा सातामा एकपटक सञ्चालन हुने व्यवस्था गरिएको छ ।