|  

राइजिङ स्टार्स एसिया कपमा नेपालले पाकिस्तानसँग खेल्दै, जित्नैपर्ने दबाब

८ मंसिर, काठमाडौं । एसीसी राइजिङ स्टार्स एसिया कपमा नेपालले मंगलबार पाकिस्तान शाहीन्ससँग खेल्दैछ । सेमिफाइनल पुग्ने सम्भावना कायम राख्न नेपाललाई जित्नैपर्ने दबाब छ ।

नेपालको सेमिफाइनल यात्रा बिहान हुने भारत ए र यूएईबीचको खेलको नतिजामा समेत निर्भर हुनेछ ।

भारत एले यूएईलाई हराएमा नेपालले पाकिस्तानलाई ठूलो अन्तरले पराजित गर्नुपर्ने हुन सक्छ । तर यूएई विजयी भएमा नेपालले पाकिस्तानलाई हराए सीधै सेमिफाइनल पुग्नेछ ।

नेपालले पहिलो खेलमा भारत एसँग ३०६ रनको हार बेहोरेको थियो भने दोस्रो खेलमा यूएईलाई पराजित गरेको थियो ।

भारत ए र यूएईबीचको खेल बिहान ११ः४५ बजे तथा नेपाल र पाकिस्तानबीचको खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।