|  

बीमा कम्पनीहरूमै पहिलो महिला सीईओ बनिन् पौडेल 

१९ वैशाख, काठमाडौँ । युनाइटेड इन्स्योरेन्सको सञ्चालक समितिले निमित्त सीईओ उपासना पौडेललाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ ।

सञ्चालक समितिको बैठकले शुक्रबार गरेको निर्णय आइतबार माइन्यूट भएपछि पौडेलले आजदेखि पूर्ण रूपमा सीइओको कार्यभार सम्हालेकी हुन् । यससँगै महिला सीइओको सूचीमा उपासनाको नाम पनि थपिएको छ । 

मंसीरमा उनलाई निमित्त सीईओ बनाइएको थियो । त्यसअघि उनी युनाइटेड इन्स्योरेन्सकै नायब प्रमुख कार्यकारी अधिकृत थिइन् ।बीमा क्षेत्रमा एक दशक लामो कार्यानुभव भएकी पौडेलले दिल्ली विश्वविद्यालयबाट मार्केटिङमा स्नातोकत्तर गरेकी हुन् ।

उनले भारतमा पनि भोडाफोन, भारती एक्सा जनरल इन्स्यारेन्स लगायत कम्पनीहरुमा काम गरेकी थिइन् । नेपाल आएपछि उनले सानिमा जनरल इन्स्यारेन्सको सहायक महाप्रबन्धक भएर दुई वर्ष काम गरिन् र डेढ वर्षअघि उनी युनाइटेडको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त भएकी हुन् ।

सन् २०१२ को सुरुवातदेखि बिमा क्षेत्रमा प्रवेश गरेकी उनले मुम्बईस्थित आइसीआइसीआइ लोम्बार्ड जनरल इन्स्यारेन्समा काम गरेकी थिइन् । सन् २०१८ को अगस्टदेखि उनले सानिमा जनरल इन्स्योरेन्सको सहायक महाप्रबन्धक भएर साढे दुई वर्षजति काम गरेकी थिइन् ।

त्यसपछि उनी युनाइटेड इन्स्यारेन्समा नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएकी थिइन् ।