०९ मंसिर, काठमाडाैं । नागरिक लगानी कोषको पुँजी वृद्धि गरी १० अर्ब रुपैयाँ पु¥याउने प्रश्ताव गरिएको छ ।
नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि प्रतिनिधि सभा अर्थ समितिको बैठकमा भएको सैद्धान्तिक छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कोषको पुँजी, लगानीको क्षेत्र र कार्यक्षेत्र विस्तार गर्ने प्रस्ताव गरिएको जानकारी दिनुभयो । अर्थमन्त्री वाग्लेले बदलिँदो आर्थिक परिवेशअनुसार नागरिक लगानी कोषलाई आधुनिक वित्तीय उपकरण तथा नयाँ लगानीका क्षेत्रमा प्रवेश गराउन आवश्यक रहेको बताउनु भयो । उहाँले अब कोषले निजी इक्विटी (प्राइभेट इक्विटी), भेन्चर क्यापिटललगायतका क्षेत्रमा समेत लगानी गनसक्ने गरी कानूनी व्यवस्था अद्यावधिक गर्न खोजिएको बताउनु भयो । उहाँकाअनुसार पूर्वाधार, उत्पादनमूलक क्षेत्र र आवास क्षेत्रमा पनि कोषको लगानी विस्तार गर्ने उद्देश्य राखिएको छ । मध्यम वर्गको विस्तारलाई मुख्य प्राथमिकतामा राखेर शिक्षा, स्वास्थ्य, रोजगारी, आधुनिक सेवा तथा आवास क्षेत्रमा ध्यान दिनुपर्ने उहाँले बताउनु भयो ।
विधेयकमार्फत कोषको सञ्चालक समिति र कार्यकारी व्यवस्थापनको जिम्मेवारी स्पष्ट पार्ने, संस्थागत सुशासन, पारदर्शिता तथा जोखिम व्यवस्थापनसम्बन्धी व्यवस्थालाई थप व्यवस्थित र अद्यावधिक गर्ने प्रस्ताव पनि गरिएको अर्थमन्त्री वाग्लेले जानकारी दिनुभयो । विधेयकका प्रमुख विशेषताबारे जानकारी दिँदै उहाँले दफा २ अन्तर्गत कोषको परिभाषा र कार्यक्षेत्र विस्तार गरिएको बताउनु भयो । यसक्रममा डिबेन्चर, ऋणपत्र तथा धितोपत्रलगायतका परिभाषा परिमार्जन गरिएको छ । त्यस्तै मुद्दती निक्षेप, सरकारी सुरक्षणपत्र तथा अन्य वित्तीय उपकरणलाई समेत लगानीको परिभाषाभित्र समेट्ने प्रश्ताव गरिएको छ ।
त्यसैगरी कोषको पुँजी संरचनामा पनि परिवर्तन प्रस्ताव गरिएको छ । हाल ८ अर्ब रुपैयाँ रहेको कोषको पुँजी १० अर्ब रुपैयाँ पु¥याउने, शेयर कित्ता ८ करोडबाट बढाएर १० करोड पु¥याउने तथा चुक्ता पुँजी ३ अर्बबाट बढाएर ६ अर्ब ८० करोड रुपैयाँ पु¥याउने प्रस्ताव विधेयकमा समेटिएको अर्थमन्त्री वाग्लेले बताउनु भयो । अर्थमन्त्री वाग्लेले भन्नुभयो,‘४८ सालभन्दा पुरानो युगमा हामीले प्राइभेट इक्विटी, भेन्चर क्यापिटलजस्ता विषयमा प्रवेश गरेका थिएनौँ । अब ती क्षेत्रमा पनि लगानी गर्नुपर्ने अवस्था आएको छ । त्यस्तै पूर्वाधार, उत्पादनमूलक क्षेत्र एवं आवास क्षेत्रमा पनि लगानी विस्तार गर्नुपर्नेछ । हाउजिङ सेक्टर पनि ठूलो क्षेत्र हो । हामीले निर्वाचनमा होमिँदै गर्दा मध्यम वर्गको विस्तारलाई सबैभन्दा मूल विषय बनाएका थियौँ । मध्यम वर्गको विस्तारका लागि शिक्षा, स्वास्थ्य, रोजगारीलगायत आधुनिक सेवा र आवासजस्ता विषयमा पनि ध्यान दिने भनेका थियौँ । त्यस्तै सञ्चालक समिति तथा कार्यकारी व्यवस्थापनको जिम्मेवारी स्पष्ट गर्ने, संस्थागत सुशासन, पारदर्शिता र जोखिम व्यवस्थापनसम्बन्धी विभिन्न धाराहरूलाई पनि अद्यावधिक गर्ने उद्देश्य हो । डिबेन्चर, ऋणपत्र, धितोपत्रलगायतका परिभाषा परिमार्जन गरिएको छ । मुद्दती निक्षेप, सरकारी सुरक्षणपत्र तथा अन्य वित्तीय उपकरणहरूलाई पनि लगानीको परिभाषामा समेटिएको छ । त्यसैले एउटा क्लस्टर दफा २ अन्तर्गत परिभाषा र कार्यक्षेत्रको विस्तारसम्बन्धी छ । अहिले ८ अर्ब रुपैयाँबाट यसलाई १० अर्ब रुपैयाँ पु¥याउने प्रश्ताव गरिएको छ । सेयर कित्ता ८ करोडबाट १० करोड पु¥याउने र चुक्ता पुँजी ३ अर्बबाट ६ अर्ब ८० करोड रुपैयाँ पु¥याउने प्रश्ताव छ ।’
उहाँले बदलिँदो आर्थिक आवश्यकता र लगानीका नयाँ सम्भावनालाई सम्बोधन गर्न नागरिक लगानी कोषसम्बन्धी कानूनी व्यवस्था समयानुकूल बनाउन संशोधन विधेयक ल्याइएको स्पष्ट पार्नुभयो । –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar